पुरस्कार दिनलाई सरकारले यसपटक पनि भेट्टाएन राम्रो कर्मचारी

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ८ : ३८


काठमाडौं । सरकारले यस वर्ष पनि निजामती सेवामा काम गर्ने राम्रो कर्मचारी फेला पार्न सकेन।

हरेक वर्ष एक जना कर्मचारीलाई सर्वोकृष्ट निजामती सेवा पुरस्कार प्रदान गर्दै आएको सरकारले यस पटक पनि कोही कर्मचारी फेला पार्न नसकेको हो।

भोलि (मंगलबार) देशभरि नै ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ आदर्श वाक्यका साथ दिवस मनाइने गरिन्छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १० जनालाई उत्कृष्ट निजामती सेवा र ३० जनालाई निजामती सेवा पुरस्कार दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। तर, बैठकले सर्वोकृष्ट कर्मचारी कोही फेला नपारेको हुनाले कसैलाई पनि दिने निर्णय गरेन।

सर्वोकृष्ट कर्मचारीले नगद दुई लाख रुपैयाँसहित पुरस्कार पाउने गरेका छन्।

दिवसकै अवसरमा सरकारले बर्सेनि सर्वोकृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आइरहेको छ।

बर्सेनि एक जनालाई सर्वोकृष्ट पुरस्कार प्रदान गरेपछि दिवस मनाउन थालिएको १७ वर्ष पूरा भए पनि अहिलेसम्म चार जना मात्र कर्मचारीले उक्त पुरस्कार पाएका छन्।

अहिलेसम्म भगवतीकुमार काफ्ले, सूर्य गौतम, शान्तराज सुवेदी र भाइकाजी तिवारीले मात्र सर्वोकृष्ट निजामती पुरस्कार पाएका छन्।

पूर्वसचिव गोपी मैनालीले राम्रो काम गरेको एक जना कर्मचारी सरकारले नपाउनु दुर्भाग्य भएको बताए।

नेपालका कर्मचारी सेवामुखी भन्दा पनि प्रक्रियामुखी बढी भएको आरोप लाग्ने गरेको छ। उनीहरूलाई जनताको सेवा कसरी गर्नुपर्छ भन्नेमा भन्दा चाकडी र जागिरमुखी भएर काम गरिरहेका छन्

२२ भदौ २०१३ मा पहिलो निजामती सेवा ऐन जारी गरिएका दिनको सम्झनामा २०६१ सालदेखि यो दिवस मनाउन थालिएको हो।


प्रतिक्रिया दिनुहोस्