चीन–जापान कट्टर दुश्मनीको कहानी!

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ६ : ४३


चीनले जापानविरुद्धको चिनियाँ नागरिक आन्दोलनको ७६ औं विजयी वार्षिकोत्सवमा भनेको थियो,‘यो जित फासीवादी शक्तिको विरुद्ध थियो।’ सन् १९४५ सम्म चीन र रुस दवैले जापानी आक्रामकताको सामना गर्नु परेको थियो।

चीनको विदेश मन्त्रालयले गत शुक्रबारको पत्रकार सम्मेलनमा जापानविरुद्धको जित चीन र रुस दुवैको लागि महत्वपूर्ण रहेको बताएको थियो। चिनियाँ विदेशमन्त्री वाङ यीले त्यसबेला केही व्यक्ति सो इतिहास मेटाउन लागि परेको भएता पनि चीनले त्यसो हुन नदिने बताएका थिए।

चीन र जापानबीचको शत्रुताको कहानी
जब जापान र चीनको दुश्मनीले भरिएको सम्बन्धको बारेमा चर्चा हुन्छ इतिहासको विषय अथवा सन् १९३७ डिसेम्बरमा चिनियाँ शहर नानजिङमा सुरु भएको नरसंहारलाई पक्कै स्मरण गरिन्छ।

जापानी सैनिकले चीनको नानजिङ शहर कब्जा गरेपछि हत्या, बलात्कार, लुट गर्न थालेका थिए। यो हत्या र निर्ममता सन् १९३७ डिसेम्बर महिनादेखि १९३८ मार्च महिनासम्म चलेको थियो। इतिहासकारका अनुसार त्यसबेला जापानी सेनाले तीन लाख चिनियाँ नागरिकको हत्या गरेका थिए। जसमा अधिकतम महिला र बालबालिका थिए।

धेरै संख्यामा महिलामाथि बलात्कार भएको थियो। तर जापानी इतिहासकारले भने हत्या र बलात्कार नभएको बताउँछन्। उनीहरु युद्धकै क्रममा मानिसहरु मारिएको दाबी गर्दछन्।

चीन र जापान युद्ध
सन् १९३१ मा जापानले चीनको मन्चुरियामा आक्रमण गरेको थियो। जापानले आफ्नो नियन्त्रण नजिकको रेलवे लाइनमा विस्फोटन गराउँदै आक्रमण थालेको थियो। त्यस दौरान चिनियाँ सैनिकले जापानी सेनालाई चुनौती दिन सकेनन्। जापानी सेनाले चीनको कयौं भूभाग कब्जा गरे।

चीन कम्युनिस्ट र राष्ट्रवादीबीचको गृहयुद्धमा फसेका बेला जापानले चीनमा आफ्नो पकड मजबुत बनाएको थियो। चीनका राष्ट्रवादी नेता च्याङ काई–शेकले नानजिङलाई राष्ट्रिय राजधानी घोषणा गरेका थिए।

कयौं जापानीहरुलाई अहिले यस्तो लाग्छ कि जापानी ज्यादतीको विषयमा चीनले बढाई–चढाई गरेर लेखेको छ। तर यो इतिहासको तथ्य हो। सन् १९३१ मा जापानले ठूलो आक्रामकताका साथ चीनको मन्चुरियामा कब्जा गरेको थियो।

यसकै परिणाम स्वरुप चीन र जापानबीच व्यापक युद्ध सुरुवात भएको थियो र लाखौं चिनियाँ सेनाको मृत्युपछि सन् १९४५ मा दोस्रो विश्व युद्धको समाप्तीसँगै चीन–जापान युद्ध पनि सकिएको थियो।

दोस्रो विश्व युद्धमा पूर्वी एसिया युद्धको मैदान बनेको थियो। यो इलाकामा राष्ट्रिय अस्मितालाई केन्द्रमा ल्याउन विश्व युद्धले ठूलो भूमिका खेलेको छ। चीन आज आर्थिक र सैन्य शक्तिको हिसाबले निकै अगाडि पुगिसकेको छ। चीन विकास हुनुमा विगतको घटनाले पनि पाठ सिकाएको छ।

नागरिकलाई अपमानको इतिहास सम्झाई रहन्छ
चीनले आफ्नो अपमानजनक इतिहासलाई आफ्नो पाठ्य–पुस्तकको हिस्सा बनाएको छ र आउने पीढिलाई उसले आफ्नो देशले झेलेको अपमानको विषयमा बुझाउँछ।

चीन आफ्नो नागरिकलाई सन् १८३९ को अफिम युद्धदेखि दोस्रो विश्व युद्धमा कस्तो अपमान र पीडा सहनु पर्यो भनेर सम्झाईरहन्छ। उसले पश्चिमा उपनिवेशवादी र जापानी सेनाका कारण भोग्नु परेको अप्ठेरो अवस्था र अपमानबारे आफ्ना नागरिकलाई भुल्न दिँदैन।

चीनले सन् २०१४ यता नानजिङमा जापानी सेनाद्वारा मारिएका नागरिकको सम्झनामा हरेक १३ डिसेम्बर राष्ट्रिय शोक मनाउने गरेको छ। चीनले नानजिङ नरसंहारका लागि जापानसँग माफी पनि माग गरेको छ।

पूर्व प्रधानमन्त्री सिन्जो आबेले नानजिङ स्मृति भवनमा आएर चीनसँग माफी माग्नुपर्ने चीनको भनाई थियो। जब युनेस्कोले नानजिङ शहरसँग जोडिएको दस्तावेजलाई विश्वमा सम्झिरहने विषयको रुपमा सजाउने फैसला गरेको थियो तब जापानले कडा आपत्ति जनाउँदै युनेस्कोमा सहयोग गर्न नै बन्द गरेको थियो।

नागरिकस्तरमा पनि समस्या
प्यु रिसर्चका अनुसार जापान र चीनका नागरिकमा पनि कटुतापूर्ण सम्बन्ध छ। अनुसन्धान अनुसार मात्र ११ प्रतिशत जापानी नागरिक चीनबारे सकारात्मक धारणा राख्छन् उता १४ प्रतिशत चिनियाँ नागरिक जापानबारे राम्रो विचार राख्छन्।

जापान आफ्नो विगत बिर्सन चाहन्छ तर चीनले जापानलाई त्यो घटनाहरु बिर्सनै दिँदैन। चीनले जापानले गरेको नरसंहारबारे एउटा संग्राहलय खोलेको छ, जहाँ जापानी क्रुरताबारे लेखिएको छ।

चीन र जापान विश्वको दोस्रो र तेस्रो ठूलो अर्थव्यवस्था भएको राष्ट्र हो। दुई देशबीचको समस्य केबल राजनीतिकस्तरमा मात्र नभएर नागरिकस्तरमा पनि छ। हाल दुवै देशबीच साना टापुको विषयमा विवाद छ। जापानमा रहेको सेनकाकु दिप र चीनमा रहेको दिओयु दिपको विषयमा विवाद छ। जापान र चीनले यी टापुहरुमा दाबी प्रस्तुत गर्दै आएका छन् उनीहरु एकअर्काको समुद्री क्षेत्रमा सेनाहरु पठाउने गर्दछन्।

अहिले पनि कुनै विवाद देखिए उनीहरु इतिहासको विषयलाई लिएर भड्किन्छन्। सम्बन्ध राम्रो बनाउने प्रयास गरिए, अतीत सम्झना गरिन्छ। जसकारण १५ सय वर्षयता दुई देशबीच राम्रो सम्बन्ध छैन।

१५ सय वर्षयता राम्रो सम्बन्ध छैन
जापानका उपप्रधानमन्त्रीको रुपमा तारो असो सन् २००६ मा भारत भ्रमणमा गएका थिए। त्यसबेला उनले भनेका थिए,‘१५ सय वर्षयता इतिहासमा कुनै यस्तो समय छैन जहाँ चीन र हाम्रो सम्बन्ध ठीक भएको होस्।’

सन् १९७२ मा जापानी प्रधानमन्त्री काकुई तानका चीन भ्रमणमा गएका थिए। उनले त्यसबेला सम्बन्ध सुधारको प्रयास गरेका थिए। जुन जापानले सन् १९३० देखि ४० को दशकमा चीनमाथि सैन्य आक्रामकता देखाएको थियो सोही चीनका नायक माओत्सेतुङले जापानी प्रधानमन्त्रीको सत्कार गरेका थिए।

काकुईले माफी माग्नुपर्ने विषयमा सवाल उठ्दा माओले त्यसको जरुरत नभएको बताएका थिए। माओले बिना जापानी आक्रमण चीनमा कम्युनिस्ट क्रान्ति सम्भव नहुने बताएका थिए।

अहिले कस्तो छ सम्बन्ध
आज पनि चीनमा कम्युनिस्ट पार्टीको शासन छ। हालका राष्ट्रपति सी चिनफिङलाई माओको दर्जा दिइएको छ। तर माओले जापानको आक्रमण बिर्सेपनि सीको मस्तिष्कमा सो नरसंहार ताजा नै छ। उनलाई इस्ट चाइना सीको विवादबारे प्रस्टै थाहा छ।

दक्षिण चीन सागरको विषयमा पनि चीनको जापानसँग विवाद छ। यो विवादमा चीन एक्लो छ। जापानसँग अमेरिका, अस्ट्रेलिया, भारत, मलेसिया लगायतका राष्ट्र छन्।

भारतसँग जापानको बढ्दो सम्बन्धका कारण पनि चीन खुशी छैन। भारत र चीनबीच चर्को सीमा विवाद छ। जापानकै सहयोगमा भारतले चीनसँगको सीमामा आधारभूत ढाँचाको विकास गरिरहेको छ। दोस्रो तर्फ उत्तर कोरियाको लागि जापान खतरा बनेको छ।

चीन र उत्तर कोरियाबीचको राम्रो सम्बन्ध लुक्न सकेको छैन। चीन र जापानबीच शत्रुतापूर्ण इतिहास छ भने चीन र भारतबीच पनि त्यस्तै इतिहास छ, त्यसकारण चीनविरुद्ध भारत र जापान एक हुनु स्वभाविक हो। बीबीसीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्