सुदूरपश्चिममा माधव नेपालको पार्टी सबैभन्दा ठूलो, एमाले चौथो दलमा खुम्चियो

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ४ : ३३


धनगढी । सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) रोज्ने प्रदेश सांसदको संख्या १४ पुगेको छ।

आइतबार बझाङकी समानुपातिक प्रदेश सांसद माया तामाङ बोहराले समाजवादीमा सनाखत गरेसँगै १४ पुगेको हो। यसअघि १३ प्रदेशसभाका सांसदले नेकपा एमाले छोड्दै नवगठित समाजवादीमा सनाखत गरेका थिए। तामाङ आएसँगै नेकपा एस १४ सांसदसहित सुदूरपश्चिम प्रदेसभामा सबैभन्दा ठूलो दल बनेको हो।

साविकको सुदूरपश्चिम प्रदेशसभाको सबैभन्दा ठूलो दल रहेको एमाले भने १० सांसदसहित चौथो दलका रुपमा खुम्चिएको छ। एमालेबाट निर्वाचित बझाङका सांसद अर्जुन बहादुर सिंह भने हाल सभामुख रहेका छन्।

सुदूरपश्चिम प्रदेशसभामा नेकपा माओवादी केन्द्र १३ सहित दोस्रो र नेपाली कांग्रेस १२ सांसदसहित तेस्रो दल बनेको छ। जनता समाजवादी पार्टीमा सुदूरपश्चिममा २ जना सांसद रहेका छन्।

नेकपा एस रोज्नेहरुमा सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सांसद कुलवीर चौधरी, अमरबहादुर साउद, बलबहादुर सोडारी र सुशीला बुढाथोकी, तारालामा तामाङ, दीर्घ सोडारी र प्रकाश रावलले माधव नेपाल नेतृत्वको नयाँ पार्टीको पक्षमा नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए।

विगतमा माधव समूहमै रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाह, पूर्वमन्त्री कृष्णराज सुवेदी, अर्थ राज्यमन्त्री अर्चना गहतराज र सांसद हर्कबहादुर कुँवरले भने एमालेमै रहने जनाएका छन्।

सुदूरपश्चिममा विगतदेखि नै पूर्वमन्त्री पठानसिंह बोहरा, रतना थापा, ग्याल्बुसिंह बोहरा, माया तामाङ बोहरा, लीलाधर भट्ट, नेपालु चौधरी र बलदेव रेग्मी ओली समूहमा थिए। उनीहरुले नेकपा एमालेमै रहने बताएका छन्।

सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशअनुसार प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिन अर्थात २२ भदौसम्म दल रोज्न पाउने छन्।


प्रतिक्रिया दिनुहोस्