संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख मार्टिन काबुलमा

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ४ : ०९


संयुक्त राष्ट्रसङ्घीय महासचिवले तालिबानसँग वार्ता गर्नका लागि एक अधिकारी अफगानिस्तानको राजधानी काबुल पठाएका छन्।

आइतबार महासचिव गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथलाई वार्ताका लागि काबुल पठाएका हुन्। उनले काबुलमा रहँदा तालिबानका नेताहरुसँग छलफल र परामर्श गर्नेछन्।

राष्ट्रसंघको उपमहासचिव समेत रहेका ग्रिफिथले काबुलमा रहँदा त्यहाँको आवश्यक सहयाताका विषयमा तालिबान नेताहरुसँग भेटवार्ता गर्ने छन्।

त्यसअवसरमा उपमहासचिव ग्रिफिथले त्यहाँका तालिबान अधिकारीहरुले मानवीय सहायताको वितरणका लागि उपयुक्त वातावरण बनाउनुपर्नेमा ध्यान दिन आग्रह गरेका थिए।

देशमा मानवीय सहायताको वितरण जस्तो संवेदनशील कार्यमा महिलाहरुको ठूलो भूमिका रहने भन्दै त्यसका लागि तालिबान सरकारले महिलाको अधिकारको सम्मान गर्नुपर्नेमा पनि उनले तालिबान नेताहरुलाई आग्रह गरेका थिए।

त्यसअवसरमा तालिबानका नेताहरुले मानवीय सहायता वितरणका साथै अरु पनि कार्यमा अफगानिस्तानमा सुरक्षा प्रदान गरिने आवश्वासन दिएका थिए।

उनीहरुले मानवीय सहायता वितरणमात्र नभएर अरु पनि मानव अधिकार र महिलाको अधिकारका क्षेत्रमा तालिबानहरु सजग रहेको बताएका थिए। रासस


प्रतिक्रिया दिनुहोस्