एमसीसी पास गरेर नेपाललाई अफगानिस्तानजस्तै बनाउने षड्यन्त्र बन्द गर : विप्लव समूह

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ३ : २१


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको (नेकपा)ले एमसीसी पारित नगर्न चेतावनी दिएको छ।

एमसीसी पारित गरेर नेपाललाई अफगानिस्तानजस्तै युद्धभूमि बनाउने षड्यन्त्र बन्द गर्न चेतावनी दिँदै विप्लव नेकपाले १० अर्बभन्दा बढी रकम स्वाहा बनाइसकेको एमसीसीसम्बन्धी सबै कार्यक्रम बन्द नगरिए परिणाम भयावह हुने चेतावनी दिएको छ।

सो पार्टीका केन्द्रीय सचिवालय सदस्यसमेत रहेका नेता कञ्चनले सोमबार प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘नेपाल सरकारले नियतबस वा वैदेशिक दबाबमा एमसीसीजस्तो राष्ट्रघाती सहमति संसद्बाट पारित गर्ने कोसिस गर्दैछ भत्रे आशङ्का आमरूपमा नेपाली राजनीतिक वृत्तमा गरिएको छ। यसप्रकारको सहमति तत्काल खारेज गर्नुको सट्टा संसद्बाटै पास गराउनु नेपाली राजनीतिक इतिहासमा सबैभन्दा ठूलो भूल र कलङ्क हुनेछ। यो सहमति संसद्बाटै पारित हुने वा कुनै पनि बहानामा यो कार्यान्वयन हुने अवस्थामा नेपालको असंलग्न परराष्ट्रनीतिको विपरीत नेपाललाई अमेरिका वा यसको सैन्य गठबन्धनको कठपुतली बनाउने, नेपालका प्राकृतिक सम्पदाहरूमाथि विदेशी प्रभुत्व लादिने, क्षेत्रीय सन्तुलनमा अस्थिरता र गडबडी ल्याउने, नेपाली जनताले राष्ट्रियताको भीषण युद्धको अनावश्यक दुष्चक्रमा फस्नुपर्ने अवस्था आउने र अन्ततोगत्वा यसले देशलाई अफगानिस्तान बनाउने अवस्था उत्पन्न गर्र्नेछ।’


प्रतिक्रिया दिनुहोस्