‘सर्वोच्च नेता अखुन्जादा जिवित छन् र चाँडै सार्वजनिक हुनेछन्, महिला समाजको महत्वपूर्ण हिस्सा’

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ३ : २१


अफगानिस्तानको सत्ता कब्जामा लिएको तालिबान समूहले सोमबार पत्रकार सम्मेलन गरेर विभिन्न विषयको जानकारी गराएका छन्। सबैभन्दा पहिले तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पन्जसिर उपत्यका आफ्नो कब्जामा आएको बताएका छन्।

यस्तै उनले सो क्रममा तालिबानका सर्वोच्च नेता हिब्तुल्लाह अखुन्दजादाको मृत्यु नभएको बताउँदै अखुन्जादा जिवित भएको र उनी चाँडै सार्वजनिक हुने बताएका छन्।

१५ अगष्टमा काबुल कब्जा गरेपछि त्यसयता लगातार अखुन्जादा कहाँ छन् भनेर प्रश्न खडा भइरहेको थियो। मे २०१६ मा अखुन्जादा तालिबानको सर्वोच्च कमाण्डर बनेका थिए। ६० वर्षका उनले राजनीतिक ढाँचामा भन्दा बढी धार्मिक नेताको रुपमा काम गरेका छन्। यसअघि अखुन्जादा कान्दाहर प्रान्तमा भएको बताइएको थियो।

तालिबान शक्तिशाली हुनुमा उनको हात भएको बताइन्छ। सन् १९८० को दशकमा रुसी सेनाविरुद्ध उत्रिएका नोतामध्ये हिब्तुल्लाह पनि एक हुन्। तालिबानको राजनीतिक टोलीका प्रमुख तथा तालिबानका सहसंस्थापक मुल्ला अब्दुल गनी बरादर यसअघि काबुल पुगेर अहिले कान्दाहर पुगिसेका छन्। तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगानिस्तानमा सरकार गठनको वार्ता चलिरहेको बताइरहँदा हिब्तुल्लाह र बरादरमध्ये एक देशको राष्ट्रपति बन्ने चर्चा चलिरहेको छ।

तर हिब्तुल्लाह राष्ट्रपति भन्दा पनि सर्वोच्च नेता हुने सम्भावना बढी भएको पनि बताइन्छ। सर्वोच्च नेताको निर्देशनमा राष्ट्रपति र अन्य पदमा आसिन व्यक्तिले देश चलाउनेछन्।

यसैबीच सोमबारको पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ताले महिलाहरु समाजको महत्वपूर्ण हिस्सा भएको बताए। उनले शरीया कानुनअनुसार महिललो अधिकार प्राप्त गर्ने पुनः दोहोर्याए। मुजाहिदले यसअघि महिलाले अफगानिस्तानमा पढ्न पाउने र काम गर्न पाउने बताएका थिए।

तर महिलाको अधिकार सुनिश्चित नभएको भन्दै हालैका दिनमा महिलाहरुले आन्दोलन गर्दै आएका छन्। बीबीसी


प्रतिक्रिया दिनुहोस्