अर्थमन्त्री र गर्भनरबीच टेलिफोन वार्ता : जसरी घटेको थियो त्यसैगरि बढ्यो सेयर बजार

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ३ : ०३


काठमाडौं । कसिलो मौद्रिक नीतिका कारण केहि दिनदेखि भारि गिरावट आइरहेको सेयर बजारमा आज उत्साहजनकरुपमा बढेको छ।

मौद्रिक नीतिका कारण बजार आरोलो लागेपछि आज दिउसो अर्थमन्त्री जर्नादन शर्माले गर्भनर महाप्रसाद अधिकारीसँग टेलिफोन संवाद गरेका थिए।

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाइ परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।

सो समाचार सार्वजनिक भएसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उत्साहजनक वृद्धि देखिएको हो।

नेप्से आज १६१.६६ अंकभन्दा बढीको वृद्धि भएर २९८०.५० को बिन्दुमा बजार बन्द भएको छ।

यसदिन समग्र नेप्से ५.७३ लगभग ६ प्रतिशत बढेको छ।

आज नेप्सेमा कारोबारमा आएका सबै कम्पनीको मूल्य बढेको छ भने धेरैमा ‘पोजेटिभ सर्किट’ लागेको छ।

आज २२४ कम्पनीको १७ करोड ९ लाख २२ हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०७ रुपैयाँ बराबरको कारोबार भयो।

आज सबैभन्दा धेरै कारोबार गर्नेमा अरुण भ्याली हाइड्रोपावर कम्पनी रहको छ। जसको कारोबार ४६ करोड तीन लाख ९१ हजार ४५६ रुपैयाँको कारोबार भएको छ।

त्यस्तै, दोस्रो धेरै कारोबार गर्नेमा हिमालय डेयिटलरी कम्पनी रहेको छ। जसको कारोबार २६ करोड ८८ लाख ९६ हजार ३१३ रुपैयाँको कारोबार भएको छ।

आज सबै समूहका सूचांकहरुमा हरियाली छाएको । विकास बैंक, हाइड्रोपावर, फाइनान्स समूहका उप–सूचांकहरुमा ९ प्रतिशतभन्दा धेरैको सुधार भएको छ भने अन्य समूहको उपसूचांकमा ८ प्रतिशतभन्दा धेरैको सुधार भएको छ।

त्यस्तै, म्यूचल फण्ड समूहको सूचकमा एक प्रतिशतभन्दा बढीको मात्र सुधार आएको छ भने बाँकी सबै समूहको उप–सूचांकमा तीनदेखि पाँच प्रतिशत सम्मको मात्र सुधार भएको छ।

आज सबैभन्दा धेरै नाफा कमाउनेमा पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ता रहेका छन्। हाइड्रोपावरमा १० प्रतिशतको वृद्धि भएको छ। त्यस्तै, आज घाटा व्यहोर्नेमा नेपाल इन्भेष्टमेन्ट डिभेन्चकर २०८२ का लगानीकर्ता रहेका छन्। कम्पनी –१.९४ अंकले घाटामा गएको छ।

आइतबार नेप्से परिसूचक नेप्से १०८.२६ अंकले झरेर २८१८.७२ विन्दुमा रोकिएको थियो।

हिजो कारोबार समयमा नेप्से ५ प्रतिशत बढीले घटेर सर्किट ब्रेकनै लागेपछि ४५ मिनेटका लागि बन्द भएको थियो।

 


प्रतिक्रिया दिनुहोस्