चीनको ताइवान कब्जा गर्ने दृढता, अर्काको हवाई क्षेत्रमा पठायो १९ युद्धक विमान

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ११ : ५७


चीनको १९ युद्धक विमानहरु आफ्नो हवाई क्षेत्रमा घुसेको ताइवानले बताएको छ। आइतबार आफ्नो वायु रक्षा क्षेत्रमा बम्बर विमानहरु बिना अनुमति पठाएर चीनले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको ताइवानको रक्षा मन्त्रालयले बताएको छ।

मन्त्रालयका अनुसार आइतबार आफ्नो आकाशमा देखिएको चिनियाँ युद्धक विमानहरु परमाणु हतियार सम्पन्न र बम्बर विमानहरु थिए। एक वर्षयता ताइवानको आकाशमा चिनियाँ विमानहरु यसरी नै घुसिरहेका छन्।

हिजो चारवटा चीनको शक्तिशाली एच–६ बम्बर जो पनडुब्बी पत्ता लगाएर आक्रमण गर्नसक्छ सो विमान पनि ताइवानको हवाई क्षेत्रमा देखिएका थिए। चिनियाँ विमानहरु कहाँ–कहाँ उडे भनेर ताइवानको रक्षा मन्त्रालयले एउटा चित्र नै सार्वजनिक गरेको छ जहाँ चिनियाँ विमानहरु ताइवानको तट क्षेत्रसम्मै पुगेको देखिएको छ।

मन्त्रालयका अनुसार चिनियाँ विमानलाई चेतावनी दिन ताइवानका युद्धक विमानहरु पनि आकाशमा उडेका थिए साथै चेतावनी दिँदै चीनका विमानविरुद्ध क्षेप्यास्त्र प्रणाली तैनाथ गरिएको थियो।

चीनले भने यो विषयमा केही प्रतिक्रिया दिएको छैन। गत जुन महिनामा पनि चीनका १८ युद्धक विमान ताइवानको हवाई क्षेत्रमा घुसेका थिए। गतहप्ता मात्र चिनियाँ खतरा ज्यादै बढेको ताइवानले बताएको थियो।

वास्तवमा चीनले ताइवानलाई आफ्नो छुट्टिएको प्रान्त भएको बताउँछ। जहिल्यै भएता पनि ताइवान चीनमै विलय हुने बेइजिङको भनाइलाई भने ताइवानले स्वीकार गर्दैन।

झन् साई इंग–वेनको एक चीन नीति नमान्ने दृढताकै कारण उनी दोस्रोपटक ताइवानको राष्ट्रपतिमा निर्वाचित भएकी छिन्। चीनबाट खतरा बढेको बताउँदै यतिबेला उनले अमेरिकाबाट अत्याधुनिक हतियार, युद्धक विमान, राडार प्रणाली, क्षेप्यास्त्रहरु खरिद गर्न थालेकी छिन्।

यी विषयले निश्चय नै चीन रुष्ट छ। चीनले आफूले चाहेमा ताइवानलाई केहीबेरमै नियन्त्रणमा लिनसक्ने बताउँदै गर्दा ताइवानले भने आफ्नो रक्षा प्रणालीलाई अमेरिकाको सहयोगमा बलियो बनाउँदै लगेको छ।

यसबीचमा चीनका विमानहरु ताइवान घुसिरहेका छन्। चीनले ताइवान कब्जा गर्ने ढाँचाका सैन्य अभ्यासहरु दोहोर्याउँदै लगेको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले गतवर्ष ताइवान चीनको हिस्सा भएको र ताइवान चीनबाट अलग्याउन चाहने सक्रिय भएको भन्दै आफ्ना सेनालाई हरेक समय युद्धको लागि तयार हुन निर्देशन दिएका छन्। ताइवानले पनि चीनसँग हुने युद्धको लागि तयार हुनुपर्छ भनिरहेको छ।

चीन र ताइवानबारे तथ्य
–सन् १९४९ मा समाप्त भएको चिनियाँ गृहयुद्धपछि नै चीन र ताइवानको अलग–अलग सरकार र न्याय प्रणाली छ। त्यसअघि ताइवान चीनको अधिनमा थियो।

–अलग निर्वाचित सरकार साथै आफ्नै संविधान भएता पनि ताइवान आफ्नो भएको बताउने बेइजिङले लामो समयदेखि ताइवानको अन्तर्राष्ट्रिय गतिविधिहरु सीमित गर्न खोजिरहेको छ।

–बेइजिङले कुनै न कुनै बेला यो टापुलाई आफ्नो क्षेत्रमा गाभिछाड्ने बताएको छ। पछिल्लो समय यस टापु फिर्ता लिन चीनले शक्ति प्रदर्शन गरिरहेको छ। तर ताइवानले आफू स्वतन्त्र मूलुक भएको अडान छाडेको छैन। त्यहाँ चीनको नीति लागू नहुने ताइवानको भनाइ छ। त्यसकारण हालका वर्षहरूमा सो क्षेत्रमा तनाव बढिरहेको छ। एससीएमपी र बीबीसीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्