पन्जसिर लडाकु नाइके भन्छन्ः तालिबानले आक्रमण बन्द गरे शान्तिवार्ताको लागि तयार छौं

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ११ : ०१


तालिबानको हातमा जान नसकेको एउटा मात्र क्षेत्र पन्जसिर उपत्यकाका लडाकु र तालिबानबीच केहीदिन यता हिंस्रक झडप भइरहेको छ।

तालिबानले पन्जसिरको धेरैवटा इलाका आफूले कब्जा गरिसकेको दाबी गरिरहँदा पन्जसिरका एनआरएफ लडाकुका प्रमुख अहमद मसुदले आफूहरु शान्तिवार्ताको लागि तयार भएको बताएका छन्।

मसुदका अनुसार तालिबानले अगाडि सारेको र धार्मिक नेताले उठाएको एउटा सम्झौतामा एनआरएफ सहमत छ। मसुदले एनआरएफ र पन्जसिरको प्रतिनिधित्व गर्दै भनेका छन्,‘हामी युद्ध विराम गर्न र शान्ति वार्ता गर्न तयार छौं यदि तालिबानले आक्रमण बन्द गर्छ भने।’

तर तालिबानको पक्षबाट भने शान्ति वार्ताको विषयमा कुनै जवाफ नआएको बीबीसीले जनाएको छ। पन्जसिर उपत्यकामा डेढदेखि दुई लाखसम्म मानिसहरु बसोबास गर्दछन्।

यो उपत्यका सन् १९८० को दशकमा तत्कालिन सोभियन संघले कब्जा गर्न खोजेको थियो तर उनीहरु असफल भएका थिए। यस्तै यसअघि सन् १९९६ देखि २००१ सम्म सत्तामा हुँदा तालिबालने पनि यो क्षेत्र कब्जा गर्न सकेको थिएन।

तर यतिबेला भने आफूले पन्जसिर कब्जा गर्ने तालिबानको भनाइ छ। धेरै ठाउँमा हारेका कारण पन्जसिरका लडाकुले त्यसको राजनीतिक निकास चाहेको अनुमान गरिएको छ।

एनआरएफ र तालिबानबीचको संघर्षमा एनआरएफका प्रवक्ता फहिम दस्ती र कमान्डर जनरल अब्दुल बदुद मारिएका छन्। उता तालिबानको पक्षमा प्रसिद्ध तालिबान जनरल र उनका १३ सुरक्षाकर्मीको पनि मृत्यु भएको छ। त्यसबाहेक दुवै पक्षले एकअर्काका सयौं लडाकु मारिएको दाबी गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस्