चीन भन्छः नेपालसँग सीमा विवाद छैन, उचाल्ने प्रयास भयो

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  १ : ५८


चीनले नेपालसँग सीमा विवाद रहेको विषयलाई अस्वीकार गरेको छ। काठमाडौंस्थित चिनियाँ दूतावासले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै नेपाल सरकारले भनेजस्तो सीमा अतिक्रमण चीनको तर्फबाट नभएको स्पष्ट पारेको हो।

‘सन् १९६० को दशकको सुरुमा दुई देशबीच भएको मैत्रीपूर्ण सम्झौताकै बेलादेखि सीमा विवाद समाधान भैसकेको छ’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसबेलादेखि नेपाल र चीनबीच सीमालाई लिएर कुनै विवाद छैन ।’

चीनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित रहेर सीमाका मुद्दा लगायत दुई मुलुकबीचको साझेदारीलाई थप बलियो तुल्याउन चाहेको समेत जनाएको छ।

केही व्यक्तिले यसअघि पनि नेपाल र चीनबीच कथित सीमा विवादको निम्त्याउने प्रयास गरेको जनाउँदै चीनले यसबारे परराष्ट्र मन्त्रालयले त्यतिबेला जारी गरेको प्रष्टीकरणलाई बुझ्न समेत ध्यानाकर्षण गराएको छ।

दुई मुलुकबीचको विकास तथा सहायताका लागि नेपालसँग मिलेर हिमालय सीमापार बहुआयामिक सम्पर्क संजाल निर्माण गर्न चाहेको पनि चीनले उल्लेख गरेको छ।


प्रतिक्रिया दिनुहोस्