अझै उठ्न सकेन काठमाडौँका मुख्य मुख्य चोकका फोहर

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  १ : ०५


चार दिनदेखि फोहर उठ्न थाले पनि काठमाडौँका मुख्य मुख्य चोक अझै पनि सफा हुन सकेको छैन।

अठार दिनदेखि व्यवस्थापन हुन नसकेको फोहर गत बुधबारदेखि उठाउन थाले पनि कलङ्की, कालीमाटी, खसीबजारलगायत सडक किनारामा फोहरको डङ्गुर अझै उस्तै नै छ।

नियमित परेको पानी र हाल फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलका स्थानीयवासीले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर गत साउन ३२ गतेदेखि उठ्न सकेको थिएन।

लामो समयदेखि फोहर सङ्कलन भएर बसेकाले सबै एकैपटक व्यवस्थापन हुन नसकेको काठमाडौँ महानगरपालिकाको भनाइ छ। आगामी तीन दिनभित्रमा यसअघि जम्मा भएर बसेका सबै फोहर सिसडोल लगिने महानगरपालिका वातावरण विभगका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए।

अहिले साविकअनुसार नै फोहर व्यवस्थापनको काम भइरहको छ। “धेरै दिनको सङ्कलित फोहर एकैपटक व्यवस्थापन गर्नुपर्ने भएकाले केही ढिला भएको हो, अहिले नियमितरुपमा फोहर उठिरहेको छ”, प्रमुख श्रेष्ठले भने। अठार दिनको अवधिमा करिब १५ हजार मेट्रिकटन फोहर जम्मा भएको बताइएको छ।

गत मङ्गलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले फोहर उठाउने निर्णय गरेको थियो।

मङ्गलबारको बैठकले सिसडोलसम्म जानका लागि बाटो मर्मतको काम सडक विभागले तत्काल गर्ने र सिसडोलका स्थानीय व्यक्तिका समस्याका विषय पनि समाधान गरिने भएपछि आजदेखि फोहर व्यवस्थापन हुन थालेको हो।


प्रतिक्रिया दिनुहोस्