तालिबान भन्छः पन्जसिर हाम्रो कब्जामा आइसक्यो

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ११ : ५३


तालिबान लडाकुले पन्जसिर उपत्यका पनि आफ्नो कब्जामा आएको दाबी गरेको छ। तालिबानले रोयटर्ससँग पन्जसिर कब्जामा लिएको बताएका हुन्।

यद्यपी पन्जसिरका एनआरएफ लडाकुले भने तालिबानले पन्जसिर कब्जा गर्न नसकेको बताएको छ। तालिबानको दाबीलाई एनआरएफले अस्वीकार गरेको हो। आफूहरुले कडा प्रतिवाद गर्दा तालिबान पक्षका धेरैको ज्यान गएको पन्जसिरका लडाकुको दाबी छ।

यस्तै तालिबानले देश कब्जा गरेपछि अपदस्थ भएका उपराष्ट्रपति अमरुल्लाह सालेहले पनि तालिबानको हातमा पन्जसिर नगएको बताएका छन्। उनी काबुल कब्जा भएपछि पन्जसिरमा भागेर गएका छन्। उनले आफैंलाई कार्यवाहक अफगान राष्ट्रपति घोषणा गर्दै तालिबानसँग कहिल्यै सहमति हनुनसक्ने बताएका छन्।

यद्यपी उनले परिस्थिति अप्ठेरो रहेको उल्लेख गर्दै प्रतिरोधी फौजहरूले निरन्तर लडिरहने बताए। बीबीसीलाई पठाएको भिडिओ सन्देशमा उनले दुवै पक्षमा क्षति भएको बताएका छन्।

उनले भनेका छन्,‘अहिले हामी अप्ठेरो परिस्थितिमा रहेकोमा कुनै आशङ्का छैन्। हामी तालिबानको आक्रमणमा परेका छौँ। तर हामी आत्मसमर्पण गर्दैनौँ। हामी अफगानिस्तानको पक्षमा उभिएका छौँ।’

पन्जसिर उपत्यका कहिल्यै तालिबानको नियन्त्रणमा गएको छैन र यहाँ रुसी सेना पनि प्रवेश गर्न असफल भएका थिए। त्यहाँका लडाकुले ज्यान गए माग पुरा नभएसम्म युद्ध जारी राख्ने वाचा गरेको दोहोर्याउँदै आएका छन्।

तालिबानले महिलालाई कमै मात्र अधिकार दिएको छ तर एनआरएफ महिला पुरुष बराबर सिद्धान्तमा केन्द्रित भएको समूह हो। यस्तै पन्जसिरका बहुसंख्यक नागरिक जातीय हिसाबमा ताजिक हुन् भने तालिबानहरु पास्तुन समुदायका हुन्।

जसका कारण एनआरएफले सत्तामा समावेशी साझेदारीको माग गरेको हो। माग पुरा नभएर लडाइँ हुने र आफू त्यसको लागि तयार भएको एनआरएफको भनाइ छ। पछिल्लो समय केही छलफलहरु भएता पनि त्यहाँ सहमति हुन सकेको छैन। जसका कारण दुवै पक्ष युद्धमै होमिएका हुन्।

यो पनिः तालिबानसँग कहिल्यै नहारेको पन्जसिरले यसपटक घुँडा टेक्ला त? (पन्जसिरको कथा)

-पन्जसिरमा बाल लडाकु जो तालिबानविरुद्धको युद्धमा होमिएका छन्

-पन्जसिरका लडाकुले युद्ध गर्ने भनेपछि तालिबानले भन्योः हामी आफ्ना भाइहरुसँग वार्ता गर्छौं


प्रतिक्रिया दिनुहोस्