मोटरसाइकल र मोबाइल चोरीमा संलग्न चार जना पक्राउ

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ११ : ०३


जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न घटनामा संलग्न भएको अभियोगमा चार जनालाई पक्राउ गरेको छ। मोटरसाइकल र मोबाइल पसलबाट सामान चोरी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो।

चोरीका पाँच थान मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३१ वर्षीय रोदित श्रेष्ठ र श्रेष्ठको मोटरसाइकल वर्कशपमा काम गर्ने कलैया उपमानगरपालिका–६ का ३५ वर्षीय कृष्ण साह रहेका छन्।

कार्यालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो। कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीका अनुसार बुलेट मोटरसाइकल दुई थान, पल्सर २२० सिसिको दुई थान, पल्सर एनएस एक थान बरामद गरिएको हो।

यस्तै दुई थान मोटरसाइकलको भाइजर, मोटरसाइकल चोरी तथा खोल्न प्रयोग गरिने विभिन्न सामग्री मोटरसाइकलका विभिन्न किसिमका पाटपुर्जा, पुराना सामान झिकिएका मोटरसाइकल, सवारी दर्ता प्रमाणपत्र ४५ थान र विभिन्न जिल्लाका नागरिकता प्रमाणपत्रको खाली कार्ड १८ थान बरामद गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।

चोरीका मोटरसाइकलमध्ये चार वटा काठमाडौँका विभिन्न ठाउँबाट हराएको अनुसन्धानबाट खुल्न आएको अधिकारीले बताए। निज श्रेष्ठ यसअघि पनि यही अभियोगमा पक्राउ परेका थिए।

यस्तै पूर्वी चितवनको रत्ननगरमा रहेको ए टु जेड मोबाइल पसलमा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–४ घर भई हाल पूर्वी चितवनको खैरहनी नगरपालिका–१ ज्यामिरे बस्ने २२ वर्षीय कृष्ण तामाङ र १६ वर्षीय युवक रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

उनीहरुले भदौ १२ गते मोबाइल पसलमा चोरी गरी १९ थान मोबाइल, डमी मोबाइल १२ थान, ल्यापटप एक थान र घडी चार थान चोरी गरेका थिए। पक्राउ परेका उनीहरुको साथबाट डमी मोबाइलबाहेक अन्य सबै सामान सुरक्षित बरामद गरिएको अधिकारीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्