पर्वत पहिरो अपडेट : तीन वर्षीय बालकसहित ११ जनाको मृत्यु

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ७ : २५


पर्वत । अविरल वर्षापछिको पहिरोले पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी शिवराज बुढाथोकीकाअनुसार पहिरोले कुश्मा नगरपालिका ३ का एकै परिवारका पाँच जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ७५ वर्षीया कौशिला पौडेल, ३५ वर्षीया भवगती पौडेल, १६ वर्षीया विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र ९ वर्षीय विनोद पौडेल छन्।

त्यसैगरी पहिरोका कारण घर पुरिँदा कुश्मा नगरपालिका ११ सिल्मीका ३५ वर्षीय दुर्गा पौडेल र ६ वर्षीय गणेश पौडेलको मृत्यु भएको छ।

डिएसपी बुढाथोकीकाअनुसार कुश्मा ११ पकुवाकी ७० वर्षीया डल्ली उपाध्याय पौडेल, ४० वर्षीया मायाकुमारी पौडेल र ३ वर्षीय बालक प्रयुष पौडेलको पहिरोका कारण ज्यान गएको छ।

त्यसैगरी पहिरोले गोठ बगाउँदा पुरिएर मोदी गाउँपालिका ५ आमबोटकी ५० वर्षीया फूलमाया थापाको पनि मृत्यु भएको डिएसपी बुढाथोकीले न्युज कारखानालाई जानकारी दिए। निरन्तरको वर्षाका कारण आएको पहिरोले चारवटा घर पुरिँदा ११ जनाले ज्यान गुमाउनु परेको बुढाथोकी बताउँछन्।

वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत आमबोटदेखि कुश्मा बजारसम्मको सडक अवरुद्ध छ।

यो क्षेत्रमा बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको डिएसपी बुढाथोकीले जानकारी दिए। उनकाअनुसार पहिराले खेतीयोग्य जमिनमा निकै ठूलो क्षति पुगेको छ भने पहिरो पन्छाउन मात्रै दुई साता बढी लाग्ने अनुमान गरिएको छ।

पहिरोका कारण धौलागिरीका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ सडक, विद्युत र सञ्चार सम्पर्कबाट विच्छेद छन्।

 


प्रतिक्रिया दिनुहोस्