रेलमा भारतीय सांसद अन्डरवेयर र गन्जीमा मात्रै देखिए, आलोचनापछि दिए यस्तो प्रतिक्रिया

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ५ : २६


बिहारका मुख्यमन्त्री नितिश कुमारको पार्टी जेडीयूका एक सांसद गोपाल मंडल तेजस हालै राजधानी एक्सप्रेस रेलमा गन्जी र अन्डरवेयरमा हिँडिरहेको देखिएको थियो। उनले गन्जी र अन्डरवेयर लगाएर रेलमा हिँडेको देखेपछि उनको चर्को आलोचना भएको छ।

त्यहाँका यात्रीहरुले यो घटनामा सांसद मंडलको आलोचना गर्दै उनले दुर्व्यवहार गरेको आरोप लगाएका छन्। बिहीबार पटनादेखि दिल्लीसम्म जाने तेजस एक्सप्रेस रेलमा यो घटना भएको हो।

रेलका यात्रुहरुले यसरी नग्न भएर नहिँड्न भन्दा मंडल झगडा गर्नै उत्रिएको यात्रुहरुको आरोप छ। घटनालाई साम्य बनाउन रेलका सुरक्षाकर्मीहरु नै आउनु परेको थियो। मंडल रेलमा अन्डरवेयर र गन्जीमा देखिएको विषय इस्ट–सेन्ट्रल रेलवेका प्रमुख राजेश कुमारले पुष्टि गरेका छन्।

तर आफ्नो चर्को आलोचना भएपछि सांसद मंडलले आफ्नो बचाउ गरेका छन्। उनले आफूलाई रेलमा यात्रा गरिरहँदा पेट बिग्रएको र अनियन्त्रित भएपछि लुगा खोलेर रेलको शौचालयमा गएको बताएका छन्। शौचालय जाँदा यात्रुले छेकेपछि आफूलाई रिस उठेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्