चीन हाम्रो सबैभन्दा महत्वपूर्ण साझेदार, बीआरआई अवधारणालाई सम्मान गर्छौंः तालिबान

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  १० : ४९


तालिबानले चीनलाई आफ्नो सबैभन्दा महत्वपूर्ण साझेदार राष्ट्र भनेको छ। तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार मुख्य रुपमा चिनियाँ लगानीले नै तालिबानले देशको पुनः निर्माण गर्नुका साथै देश अगाडि बढाउने कार्य गर्नेछ।

मुजाहिदले इटालियन अखबार ला रिपब्लिकासँगको कुराकानीमा चीनलाई आफ्नो सबैभन्दा महत्वपूर्ण साझेदार भनेका हुन्। चिनियाँ सहयोगले नै अफगानिस्तानले अर्थतन्त्रमा पुनःआगमन गर्ने उनको भनाइ छ।

तालिबानले गत अगष्ट १५ मा लगभग पुरै देश कब्जा गर्ने कार्य सम्पन्न गरेको थियो। नेटोमा आवद्ध सेनाहरु अगष्ट ३१ सम्ममा फर्किएसँगै हाल सत्ता उनीहरुको हातमा छ तर त्यहाँको अर्थतन्त्र धर्मराउनुका साथै देशभर भोकमरीको अवस्था सिर्जना हुन लागेको छ।

वास्तवमा अमेरिकाले अफगानिस्तानको सम्पत्ति फ्रिज गरिदिएको छ र विश्व बैंक तथा आईएमएफले पनि सहयोग नगर्ने बताएपछि तालिबानलाई सरकार चलाउने गाह्रो हुने देखिएको छ।

यसबीचमा तालिबानका प्रवक्ता मुजाहिदले भनेका छन्,‘चीन हाम्रो सबैभन्दा महत्त्वपूर्ण साझेदार हो र उसले हाम्रो लागि एक मौलिक र असाधारण अवसर को प्रतिनिधित्व गर्दछ, किनभने चीन अफगानिस्तानमा लगानी गर्न र हाम्रो देशको पुनर्निर्माणको लागि तयार छ।’

उनका अनुसार चीनको बेल्ट एन्ड रोड इनिसियटिभ्स अवधारणालाई तालिबानले स्वागत र सम्मान गर्दछ। मुजाहिदका अनुसार अफगानिस्तान तामा खानीको धनी राष्ट्र हो। चीनलाई उत्खनन गर्न दिएर अफगानिस्तान पुनः आधुनिक शहर बन्नसक्ने उनको भनाइ छ। यस्तै उनले चीन आफ्नो लागि वैश्विक बजारको बाटो हो भनेका छन्।

सो क्रममा मुजाहिदले महिलाले भविष्यमा विश्वविद्यालय पढ्न पाउने, प्रहरी र नर्स हुन पाउनुका साथै विभिन्न मन्त्रालयका सहयोगीको रुपमा काम गर्न पाउने पनि बताए। अफगानिस्तानको १० अर्ब अमेरिकी डलर सम्पत्ति विश्वभरका बैंकमा छन् तर तालिबानले त्यो चलाउने पाउँछन् भन्ने यकिन भइसकेको छैन। अल्जाजिरा

यो पनिः विश्वले एक्ल्याउन खोजेको तालिबानलाई चीनको साथ


प्रतिक्रिया दिनुहोस्