जयसिंह धामीको परिवार भन्छ-‘भारतसँग डराएर सत्य बाहिर ल्याइएन’

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  ७ : ४७


खलंगा । दार्चुलाको व्यास गाउँपालिका २ का युवा जयसिंह धामी भारतीय एसएसबीले तुइनको लठ्ठा काटिदिँदा महाकाली नदीमा बेपत्ता भएको आज ३५ दिन पूरा भएको छ।

उनको घरपरिवारले स्थानीय संस्कारअनुसार आज ३५ दिने मृत्यु संस्कार सम्पन्न गरेका छन्।

अल्पायुमै मृत्यु भएकाहरूको ३५ दिनमै मृत्यु संस्कार सम्पन्न गर्ने परम्पराअनुसार बिहीबार बोकाको बलि दिई मृतक धामीको मृत्यु संस्कार सम्पन्न गरिएको उनका भाइ नरेन्द्रसिंह धामीले जानकारी दिए।

जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको विषयमा छानविन गर्न सरकारले गठन गरेको समितिले प्रतिवेदन बुझाएको छ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले मंगलबार प्रतिवेदन बुझाएपछि गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रतिवेदनको संक्षिप्त विवरण उल्लेख गरेको छ।

समितिले घटना भारतीय सुरक्षाकर्मी एसएसबीको उपस्थितिमा घटेको देखिएकाले निजहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी कारवाही हुनुपर्ने सिफारिस गरेको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यता, छानविन समितिले एसएसबीको संलग्नताबारे प्रस्ट नबोलेको भन्दै मृतक धामीको परिवारले असन्तुष्टि जनाएको छ।

भारतीय एसएसबीले तुइन खुस्काएकाले महाकाली नदीमा खसेको प्रत्यक्षदर्शीहरूले बयान दिइसकेको अवस्थामा पनि एसएसबीले नै घटना गराएको भनेर प्रतिवेदनमा नसमेटिनु दुखद् भएको जयसिंहका भाइ नरेन्द्रसिंह धामीले गुनासो गरे।

उनले भने, ‘भारतसँग डराएर सत्य बाहिर ल्याउन नखोजिएको हो कि? सोझा, गरिब जनताले यसरी नै मर्नुपर्ने हो?’

प्रतिवेदनको पूर्ण पाठ आइसकेपछि परिवारले छानविनका विषयमा बोल्ने उनको भनाइ छ।

छानविन समितिले जयसिंह धामीको परिवारलाई उचित क्षतिपूर्ती र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्नुका साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालन, पोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको छ।


प्रतिक्रिया दिनुहोस्