अपदस्थ उपराष्ट्रपति सालेहले आफैंलाई कार्यवाहक राष्ट्रपति घोषणा गरे, भनेः अफगानिस्तान बचाउँछु

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  ३ : ३४


अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेर नयाँ सरकार गठन गर्ने प्रक्रिया अगाडि बढाएका बेला अपदस्थ भएका उपराष्ट्रपति अमरुल्लाह सालेहले आफैंलाई अफगानिस्तानको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन्। उनी हाल तालिबानले कब्जा गर्न नसकेको पन्जसिर उपत्यकामा छन्। उनले सामाजिक संजालमा भनेका छन्,‘पन्जसिरबाट तालिबानविरुद्ध प्रतिरोध जारी रहन्छ र अफगानिस्तानका नागरिकको अधिकार रक्षा गर्नेछौं।’

सालेहले फेसबुकमा ‘तालिबानमाथि प्रतिक्रिया’ शीर्षकमा एक स्टाटस पोस्ट गरेका छन्। उनले त्यहाँ भनेका छन्,‘हाम्रो प्रतिरोध सबै अफगानिस्तानका नागरिकको अधिकार रक्षाको लागि हो। तालिबानविरुद्धका लडाकु पन्जसिरमा छन्। उनीहरु केबल पन्जसिरको लागि मात्र प्रतिरोध गरिरहेका छैनन् पुरै देशको हितका लागि लडिरहेका छनु।’

तालिबानबाट पीडित, शोषितहरुको प्रतिनिधीको रुपमा पन्जसिरका लडाकुले विद्रोह गरिरहेको सालेहको भनाइ छ। आफैंलाई कार्यवाहक राष्ट्रपति घोषणा गरेका उनले तालिबानसँग कहिल्यै सम्झौता नगर्ने पनि बताएका छन्। खबरहरुका अनुसार पन्जसिरमा तालिबानविरुद्धका लडाकु एनआरएफ समूह छन्। उनीहरुले तालिबानविरुद्ध युद्ध नै भएको अवस्थामा पनि प्रतिवाद गर्ने वाचा गरेका छन्। पूर्व जिहादी कमाण्डर अहमद शाह मसुदका छोरा अहमद मसुदले एनआरएफको नेतृत्व गरेका छन्। उनीहरुसँग पर्याप्त हतियार र अनुभवी लडाकु भएको बताइन्छ।तालिबानले कब्जा गर्न नसकेको एउटा मात्र क्षेत्र पन्जसिर हो र तालिबानले यहाँका लडाकुसँग वार्ताको आह्वान गरेको छ। यद्यपी हालसम्म सहमति भने भएको छैन। बुधबार तालिबानका प्रतिनिधि र पन्जसिरका लडाकु समूह एनआरएफबीच भएको वार्ता असफल भएको बताइएको छ।

तालिबानका अनुसार एनआरएफसँग भएको वार्ता व्यर्थै खेर गएको छ। यससँगढै पन्जसिरका लडाकुले तालिबानविरद्धको युद्ध जारी रहने पनि बताएका छन्।
भारतीय समाचार संस्था एएनआईका अनुसार तालिबानले पन्जसिरबाहेक सबै क्षेत्र कब्जामा लिइसकेको छ। तर पन्जसिरका लडाकुले भने तालिबानलाई पन्जसिर उपत्यका भित्र प्रवेश गर्न दिएका छैनन्। पन्जसिरसँग पर्याप्त हतियार र अनुभवी लडाकु भएका कारण तालिबान त्यहाँ घुस्न नसकेका हुन्।

बुधबार तालिबानका प्रतिनिधि आमिर खान मोताकीले पन्जसिरका लडाकुलाई अफगानिस्तान सबैको साझा घर भएको बताएका थिए। उनले भनेका थिए,‘हामी पन्जसिरमा अझै युद्ध रोक्न चाहन्छौं।’ यद्यपी पन्जसिरका लडाकुले मागहरु पुरा नभएसम्म युद्ध जारी राख्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

तालिबानले महिलालाई कमै मात्र अधिकार दिएको छ तर एनआरएफ महिला पुरुष बराबर सिद्धान्तमा केन्द्रित भएको समूह हो। यस्तै पन्जसिरका बहुसंख्यक नागरिक जातीय हिसाबमा ताजिक हुन् भने तालिबानहरु पास्तुन समुदायका हुन्। जसका कारण एनआरएफले सत्तामा समावेशी साझेदारीको माग गरेको छ। माग पुरा नभएर लडाइँ हुने र आफू त्यसको लागि तयार भएको एनआरएफको भनाइ छ। बीबीसी र हिन्दुस्तान टाइम्सको सहयोगमा

यो पनिः तालिबानसँग कहिल्यै नहारेको पन्जसिरले यसपटक घुँडा टेक्ला त? (पन्जसिरको कथा)

-पन्जसिरमा बाल लडाकु जो तालिबानविरुद्धको युद्धमा होमिएका छन्

-पन्जसिरका लडाकुले युद्ध गर्ने भनेपछि तालिबानले भन्योः हामी आफ्ना भाइहरुसँग वार्ता गर्छौं


प्रतिक्रिया दिनुहोस्