चीनले दिएको खोप अस्वीकार गर्दै किमले भनेः जसलाई चाहिएको छ त्यसलाई दिनु

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  १० : ३६


संयुक्त राष्ट्रसंघका अनुसार उत्तर कोरियाले कोभ्याक्स कार्यक्रममार्फत् प्राप्त गर्ने भनिएको ३० लाख डोज चिनियाँ खोप लिन अस्वीकार गरेको छ। त्यहाँका सर्वोच्च नेता किम जोङ उनले चीनले दिएको खोप लिन अस्वीकार गर्दै ‘जसलाई चाहिएको छ त्यसलाई खोप दिनु’ भनेका हुन्।

राष्ट्रसंघका अनुसार कोभ्याक्स कार्यक्रममार्फत् उत्तर कोरियाले ३० लाख सिनोभ्याक खोप पाउने थिए। कोभ्याक्सको उद्देश्य गरिब तथा अबिकसित राष्ट्रलाई निःशुल्क खोप प्रदान गर्नु हो। तर एक जनामा पनि कोरोना भाइरस नदेखिएको दाबी गर्ने उत्तर कोरियाले खोप लिन अस्वीकार गरेको हो।

उत्तर कोरियाले कहिल्यै स्पष्ट रुपमा कोरोनाबारे जानकारी दिएको छैन। यद्यपी उत्तर कोरिया कोरोनाविरद्ध निकै सजग देखिएको छ। उत्तर कोरियाले कोरोना प्रकोप सुरुवात हुनासाथ चीनसँगको साथै अन्तर्राष्ट्रिय नाकाहरु बन्द गरिदिएको थियो। चिनियाँ खोप लिन अस्वीकार गरेको उत्तर कोरियाले यसअघि २० लाड डोज अस्ट्राजेनिका खोप लिन पनि अस्वीकार गरेको थियो।

यसअघि रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले पनि जुलाईमा उत्तर कोरियालाई स्पुतनिक भी खोप दिने बताएका थिए। तर त्यसबेला पनि उत्तरले खोप नचाहिने बताएको थियो। उत्तर कोरियाले कोरोना खोपको प्रभावको विषयमा सन्देह व्यक्त गर्दै आएका छन्। उसले अमेरिका र युरोपका खोपले नकारात्मक असर गर्छ भन्ने सोच्छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्