नेपाल र भारतका राष्ट्रिय फुटबल टोलीबीच आज प्रतिस्पर्धा

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  १० : २०


दोस्रो दक्षिण एसियाली खेलकुद प्रतियोगिता साफमा नेपाल र भारतबीच पहिलो पटक फुटबलमा सन् १९८५ डिसेम्बर २१ मा प्रतिस्पर्धा भएको थियो। बङ्गलादेशको ढाकास्थित बंगबन्धु रङ्गशालामा भएको उक्त खेलमा भारतले नेपाललाई २–० गोलअन्तरले पराजित गरेको थियो। नेपाली टोलीको सुरुआत सुखद् रहेन । त्यसयता नेपाल र भारतबीच फुटबलमा १९ पटक भिडन्त भएको छ।

भारत १३ पटक विजयी भएको छ भने नेपालले दुई चोटी मात्र जित निकाल्न सक्यो। तीन खेलमा दुवै टोलीले बराबरी खेलेका थिए। समग्रमा नेपाली टोली भारतसामु निरिह सावित भएको छ। विश्व फुटबल महासङ्घ फिफा बरियताअनुसार पनि नेपालभन्दा भारत फुटबलमा निकै अब्बल देखिन्छ। फिफा बरियताअनुसार भारत १०५ औँ स्थानमा छ भने नेपाल १६८ स्थानमा छ।

हालसम्म भारतसितको फितलो प्रदर्शनका बाबजुद पनि आज साँझ ५ः३० बजे घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो मैत्रीपूर्ण खेलमा नेपाली टोली जितको दाउमा छ। घरेलु मैदानका साथै घरेलु दर्शकलाई जितका साथ भरपुर आनन्द दिने लक्ष्यका साथ नेपाली टोली मैदानमा प्रवेश गर्ने छ। भारतसितको हालसम्म गरेको प्रदर्शनको तथ्याङ्कलाई गलत सावित गर्ने योजना मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताए।

बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा समेत उनले नेपालीलाई खुशी बनाउनका लागि मात्र होइन् गर्व गर्न लायक प्रदर्शन गर्ने वाचा गरे। प्रशिक्षक अलमुताइरीको वाचाले पनि नेपाली टोलीको उत्साह बढेको पाइन्छ। प्रशिक्षक अलमुताइरीले भारतसितका दुवै मैत्रीपूर्ण खेलमा नेपालले जित्नकै लागि खेल्ने बताए।

नेपाली टोलीका कप्तान किरणकुमार चेम्जोङ पनि भारतसितका दुवै खेलमा नेपालले जित हासिल गर्नेमा ढुक्क छन्। युवा टोलीले हालसम्मकै उत्कृष्ट प्रदर्शन गर्नेमा उनी आशावादी छन्। भारतीय टोलीमा पनि अधिकांश खेलाडी नयाँ भएको चेम्जोङलाई हेक्का छ। त्यसैले पनि उनको मनोबल उच्च भएको पाइन्छ।

नेपाली टोलीका लागि टाउको दुखाइ भारतीय कप्तान सुनिल क्षेत्री बनेका छन्। नेपाली मुलका ३६ वर्षीय क्षेत्री विश्वमै नाम कमाएका कीर्तिमानी खेलाडी हुन्। उनी अन्तर्राष्ट्रिय खेलमा धेरै गोल गर्नेमा अग्रस्थानमा छन्। क्षेत्रीले ११८ खेलमा ७४ गोल गरेका छन्। त्यसैले नेपाली टोलीको लक्ष्य क्षेत्रीलाई रोक्नेमा बढी केन्द्रित देखिन्छ।


प्रतिक्रिया दिनुहोस्