सिडिओ शर्माले अशक्तको घरमै पुगेर नागरिकता दिइन्

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ९ : ०४


गुल्मी । मुसिकोट नगरपालिका ३ की ५० वर्षीया गोमा थापा मानसिक रोगले वर्षौंदेखि पीडित छन्। घरमै लडेर कम्मरदेखि तलको भाग चल्दैन। १० वर्षदेखि पशु सरह चार हातपाउ टेकेर हिँडडुल गर्छिन्।

थापाले घर परिवारको आर्थिक अवस्था, मानसिक तथा शारीरिक समस्याका कारण नागरिकता बनाएकी थिइनन्।

बुधबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गोमाको घरमै पुगेर नागरिकता दिएकी छन्।

उनले मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा, वडा अध्यक्ष र स्थानीयको उपस्थितिमा थापालाई नागरिकता प्रदान गरेकी हुन्।

गोमा दिदी टीकाकुमारी घिमिरेसँग बस्दै आएकी छन् । नागरिकता पाएपछि गोमासहित दिदीको परिवार खुसी भएको छ । ‘मैले अब बहिनीले नागरिकता पाउँछे भनेर कल्पना पनि गरेकी थिइनँु, गहभरी आँसु पार्दै टीकाकुमारीले भनिन्, ’सीडीओ साुब भगवान् आएजस्तै घरमै आएर नागरिकता दिनुभयो।’

गोमाले नागरिकता नहुँदा १० वर्षदेखि सरकारले प्रदान गर्ने अपांगबापतको सामाजिक सुरक्षा भत्ता पनि पाएकी थिइनन्।

नागरिकता प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले गोमा जस्तै कोही पनि नागरिकताबाट बंचित भए आफूलाई सम्पर्क गर्न आग्रह गरिन्। उनले नागरिकता पाउने प्रशस्तै आधार र प्रमाण हुँदाहुँदै आर्थिक अभाव वा अरू विधि र प्रक्रिया नबुझेर घरमै नबस्न सबैलाई सुझाव दिइन्।

मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटले प्रमुख जिल्ला अधिकारी घरमै पुगेर नागरिकता दिएको मुसिकोटको पहिलो उदाहरण भएको बताए।

उनले शारीरिक अशक्तताका बीच नागरिकता पाउन प्रशासन धाउनुपर्ने, सानो कागज नभएर भोग्नुपर्ने सास्ती र आर्थिक दृष्टिकोणले पनि प्रमुख जिल्ला अधिकारी शर्माले खेलेको भूमिका निकै महत्त्वपूर्ण र प्रशंसनीय भएको प्रतिक्रिया दिए। न्युज कारखाना

 


प्रतिक्रिया दिनुहोस्