१८ वर्षीया स्वेच्छा जन्मेदेखि ओछ्यानमै, आमा भन्छिन्: ‘उनकै नामले चिनिन पाएको छु’

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ४ : ३२


सप्तरी । राजविराज नगरपालिका-४ की ४२ वर्षीया विमला परियार सुतिरहेकी १८ वर्षीया छोरी स्वेच्छालाई टोलाएर हेरिरहेकी न्। तीन सन्तानमध्ये जेठी सन्तानको रूपमा जन्मेकी स्वेच्छाको जिन्दगी जन्मेदेखि आजपर्यन्त ओछ्यानमै बितिरहेको छ।

बाहिरी संसारको आनन्द लिन नसकेकोमा उनी चिन्तित छिन्। स्वेच्छा टाउको, हात, खुट्टा केही उचाल्न सक्दिनन्। न त बोल्न सक्छिन्, न कोल्टो नै फेर्न।

पूर्णरूपमा अशक्त रहेकी स्वेच्छाको यो अवस्था देखेर विमला सधैं पिरोलिन्छिन्। उनलाई भाइबहिनी जस्तै स्वेच्छाको पनि जिन्दगी भइदिएको भए कति रमाउँथी, के-के गर्थी भन्ने कुराले चिन्तित बनाउँछ । परिवारमा सबैभन्दा जेठी छोरी भएकीले जति गर्नुपरे पनि उसैको बढी माया लाग्ने गरेको आमा विमला बताउँछिन्।

आफ्ना मान्छे नजिक बसिदिँदा पनि स्वेक्षा एकदमै खुसी हुने गरेको विमलाले बताइन्। आफू सुत्केरी हुने बेलामा सिकारू अनमी, नर्सले पाँच(पाँच मिनेटमा हात हाल्दा बच्चाको टाउकोमा भएको इन्फेक्सनले स्वेच्छा बौद्धिक र शारीरिक अपांग भएको विमलाको पोख्छिन्।

‘ऊ जन्मेदेखि नै यस्तै हो, उपचार गराउन कहाँ-कहाँ लगिन्। जहाँ जाँदा पनि डाक्टरले उसको उपचार नगर्नु, निको हुने सम्भावना छैन भन्थे’, छोरीको उपचारमा जाँदा चिकित्सकले दिएको सुझाव विमला सुनाउँछिन्। ऊ पाहुना हो, पाँच वर्षभन्दा बढी बाँच्दिन भने पनि आफ्नो स्याहारसुसारले अहिलेसम्म बाँचिरहेको भन्दै विमलाले खुसी व्यक्त गरिन्।

‘आफूले जन्म दिएको जेठो सन्तान भएकोले होला उसको लागि जति दुःख गरे पनि दुःख गरेजस्तो लाग्दैन, यो मेरो दायित्व र जिम्मेवारी हो जस्तो लाग्छ’, उनले भनिन् । छोरीलाई छोडेर विमला राजविराजभन्दा बाहिर, सामाजिक तथा धार्मिक वा पारिवारिक जमघटमासमेत जान पाउँदिनन् । माइतीसमेत जान नपाएकोमा भने विमला छोरीजस्तै आफू पनि अपांग भएको महसुस हुने बताउँछिन्।

आफूलाई ढाडस दिँदै विमला भन्छिन्, ‘‘म माइत नगए पनि केही फरक पर्दैन, मेरो आमाबुबालाई हेर्ने धेरै छन् । उसलाई हेर्ने ममात्र छु ।’ स्वेच्छापछिका दुई सन्तान साना हुँदा उनको रेखदेखमा निकै कष्ट परेको विमला बताउँछिन् । तर, संयुक्त परिवारमा बसेकाले परिवारका सदस्यले भने रेखदेखमा सघाएको उनले बताइन् ।

स्वेच्छापछिका दुई सन्तान विद्यालय जान थालेपछि आफू शिक्षण पेसामा आवद्ध भएको जानकारी दिँदै विमला भन्छिन्, ‘स्वेच्छामुनिका दुई छोराछोरी विद्यालय जान थालेपछि आफू पनि निरन्तर शिक्षण पेशामा आवद्ध छु ।’

उनले घरभित्रको काम, छोरीको हेरचाह र शिक्षण पेसा एक साथ भ्याएकी छिन् । छोरीलाई खुवाउने बेला भयो भन्नेवित्तिकै विद्यालयको प्रधानाध्यापकले तुरुन्त पठाउने गरेको विमलाको भनाइ छ।

छोरीको स्याहारले दिक्क लाग्दैन

विमलालाई छोरी स्वेच्छाको स्याहारसुसार गर्दा दिक्क नलाग्ने बताउँछिन् । ‘हामीले जन्म दियौं र आइन्, मैले नै दिक्क मानेर हुन्छ र । बरू पूजाआजा गर्न समय दिन्न, तर छोरीको स्याहारमा समय खर्चिनुलाई ठूलो धर्म ठानेकी छु,’ उनी भन्छिन् ।

ऊ जन्मेदेखि आरामले कसरी सुतिन्छ रु बिमलालाई थाहा छैन । स्वेच्छा उठ्न, बस्न, कोल्टो फेर्न, बोल्न, इसारा गर्न सक्दिनन् । उनी पूर्णरूपमा अशक्त छिन् । विमला भन्छिन्, ‘उसको रूवाइ, अनुहारको आकृतिले उसको समस्या मैले बुझ्नुपर्छ ।’ दिउँसो ६ पटक र रातिमा तीनपटक गरी दैनिक नौपटक स्वेच्छालाई कोल्टे फर्काउनुपर्ने विमला बताउँछिन् ।

उसलाई खुवाउन एकदमै समस्या छ । उठाएर, तकियाको सहायतामा टाउको उचालेर, हातले घाँटी समाएर खुवाउनुपर्छ । खुवाउन सबैभन्दा बढी समस्या हुने भएकाले मैले आफैले खुवाउनुपर्ने बाध्यता रहेको विमला बताउँछिन् । ‘अरूले सक्दैनन्, म आमा हुँ, नसकेर हुँदैन’, विमलाले भनिन् ।

उसलाई निल्न पनि गाह्रो हुन्छ। उनले दाल, भात, तरकारी, मासु, साग सबैथोक खुवाउने गरेको बताउँदै विमलाले अरुले भन्ने गरेको सम्झिँदै भनिन्, ‘यस्तो बच्चाले झोलीय/तरल पदार्थबाहेक केही खाँदैनन्।’ तर, आफ्नी छोरीले सबैकुरा खाने भन्दै विमलाले भनिन्, ‘खुवाउँदा मेहनत नपुगेर त्यस्तो भएको हो। धेरैपटक प्रयास गर्दा खाँदा रहेछन्, खुवाउँछु भन्ने चाहना पनि हुनुपर्छ।’

स्वेच्छाले पनि पहिले झोलीय तरल पदार्थ मात्र खाने गरेकी थिइन्। पछि लगातारको प्रयासपछि उनले सबैथोक खान थालेकी विमला बताउँछिन्। ‘धेरै अभिभावकलाई मेरो अपांगता भएको छोराछोरी छ भन्न लाज लाग्छ। तर, मलाई गर्व लाग्छ। उसैले गर्दा बौद्धिक अभिभावक संघलगायत विभिन्न संघसंस्थामा आवद्ध छु । उसैको आमाको नामबाट मलाई सबैले चिनेका छन्’, विमला भन्छिन्।

‘मैले गरेको स्याहारसुसारबाट प्रभावित भएर अपांग संघ सप्तरीका पदाधिकारीहरूले मलाई मदर टेरेसाको पुरस्कार दिनुपर्छ भन्ने गर्छन्’, उनले भनिन्, ‘यसरी प्रशंसा गरेको सुन्दा खुसी लाग्छ । अझै राम्रो गरौं जस्तो मनोबल बढ्छ।’

सुधा देव/न्युज कारखाना


प्रतिक्रिया दिनुहोस्