अफगानिस्तानबाट सबै सेना फर्किए पनि १०० अमेरिकी नागरिक अझै काबुलमै

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  २ : ३०


अमेरिकी विदेशमन्त्रालयका अनुसार अफगानिस्तानबाट सबै अमेरिकी सेना फर्किसकेका छन्, तर अझै सय अमेरिकी नागरिक भने अफगानिस्तानको राजधानी काबुलमै छन्। यतिबेला अमेरिकाले आफ्ना बाँकी रहेका नागरिकलाई पनि फर्काउने विषयमा विचार गरिरहेको मन्त्रालयको भनाइ छ।

विदेशमन्त्रालयका प्रवक्ता नेड प्राइसका अनुसार अमेरिकी सेनाहरु फर्किएता पनि अमेरिका त्यहाँ रहेका आफ्ना नागरिकहरुको सम्पर्कमा छ। उनले पत्रकार सम्मेलनमा भनेका छन्,‘हामी अफगानिस्तानमा रहेका अमेरिकीसँग सम्पर्कमा छौं। या त उनीहरु आफैंले त्यहीँ बस्ने निधो गरेका छन् अथवा उनीहरु त्यहाँबाट बाहिरिन सकेनन्।’

अफगानिस्तान छाड्न चाहने अमेरिकीलाई आफूले सुरक्षित रुपमा उद्धार गर्ने पनि नेड प्राइसको भनाइ छ। उनी भन्छन्,‘हाम्रो उद्धारको काम जारी छ, हाम्रा विदेशमन्त्री एन्टोनी ब्लिंकेनले भनेझैं अफगानिस्तानसँग हाम्रो सम्बन्धको नयाँ अध्याय सुरुवात भएको छ।’ हाल काबुलबाट अमेरिकी दूतावास कतारको दोहा स्थान्तरण गरिएको छ। प्राइसले दोहाबाट अफगानिस्तानसँग कूटनीतिक गतिविधि अगाडि बढाउने बताएका छन्।

यसअघि तालिबान र अमेरिकाबीच भएको वार्तामा ३१ अगष्टसम्म अमेरिकी सेनाहरु अफगानिस्तानबाट फर्किसक्नु पर्ने थियो। उक्त समयसीमा अमेरिकी सेनालाई मात्र लागू भएको थियो। जसका कारण त्यहाँबाट अमेरिकी सेना फर्किसकेका छन् र त्यहाँ रहेका अमेरिकी नागरिक अहिले पनि अमेरिका फर्किन पाउँछन्। तालिबानले आफूले विदेशी नागरिकको सुरक्षा ग्यारेन्टी लिने बताइसकेको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्