सरकारले एमालेसँग सम्बन्ध सुधार गर्न खोज्दै, कानुनमन्त्री कार्कीले भेटे ओली

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  १ : ४५


देउवा सरकारका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन्। सरकारले आफ्ना मन्त्री ओलीसँग भेट्न पठाएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सम्बन्ध सुधारको पहल थालेको हो।

मंगलबार साँझ भेटका क्रममा मन्त्री कार्कीले ओलीसँग संसद अधिवेशन सञ्चालन, बजेट तथा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका विषयमा कुराकानी गरे। दुई महिनाअघि सरकार बनेपछि कुनै पनि मन्त्रीले एमाले अध्यक्ष ओलीसँग भेट गरेका थिएनन्। त्यसअघि पनि कार्कीले दिउँसो साढे ३ बजे एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग भेटवार्ता गरेका थिए।

मन्त्री कार्कीकाअनुसार ओलीसँगको भेटका क्रममा समसामयिक विषयमा र लोकतन्त्रलाई सुदृढा बनाउँदै संसदलाई प्रभावकारी बनाउने विषयमा कुराकानी भएको छ।


प्रतिक्रिया दिनुहोस्