चीन र पाकिस्तानसँग नजिक रहेको तालिबान भारतसँग राम्रो सम्बन्ध स्थापित गर्ने सोचमा

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  १ : १७


चीन र पाकिस्तानसँग नजिक मानिएको तालिबानले भारतसँग पनि राम्रो सम्बन्ध स्थापित गर्न चाहेको छ। सोहीकारण अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रुपमा फिर्ता भएको केही घन्टामा नै भारत र तालिबान प्रतिनिधिबीच पहिलोपटक वार्ता भएको छ।

कतारका लागि भारतीय राजदूते दीपक मित्तलले तालिबानको कतारस्थित राजनीतिक कार्यालयका प्रमुखसँग कुराकानी गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। बीबीसीका अनुसार तालिबान पक्षको आग्रहमा कतारस्थित भारतीय दूतावासमा सो बैठक भएको हो।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार वार्ता अफगानिस्तानमा रहेका भारतीय नागरिकको सुरक्षामा केन्द्रित थियो। त्यसैगरी भारतले तालिबानको अल्पसंख्यकको विषय पनि उठाएको थियो। भारतीय पक्षले अफगानिस्तानको भूमि आफूविरुद्ध प्रयोग नहोस भनी आग्रह गरेको थियो।

पछिल्लो समय तालिबान नेतृत्वले भारत यस क्षेत्रको महत्वपूर्ण शक्ति भएको भन्दै आफूहरुले सम्बन्ध विस्तार चाहेको बताउँदै आएको छ। विश्वका धेरै देशले तालिबानलाई प्रतिबन्ध लगाउने सोच राखेका बेला भारतले प्रतिबन्ध नलगाओस् भनेर पनि तालिबालने भारतीय प्रतिनिधिसँग भेटघाट गरेको अनुमान गरिन्छ।


प्रतिक्रिया दिनुहोस्