एमालेबाट बागमती प्रदेशका मन्त्री बनेका खनालले त्यागे मन्त्री पद, माधव नेपालसँग मिले

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ११ : १०


नेकपा एमालेको तर्फबाट बागमती प्रदेशको सामाजिक विकासमन्त्री बनेका कृष्णप्रसाद शर्मा खनालले मन्त्री पदबाट बुधबार राजीनामा दिएका छन्। एमाले छाडेर खनाल माधव नेपालको नवगठित नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन्।

खनालले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र रहेका छन्।

मन्त्री बनेको १५ दिन नपुग्दै उनले राजीनामा दिएका हुन्। खनालले मंगलबार मात्रै प्रदेश निर्वाचन कार्यालय हेटौंडा पुगेर नेकपा एकिृत समाजवादीको पक्षमा सनाखत गरेका थिए। उनीसहित १२ सांसदले एमाले छाडेपछि सरकार अल्पमतमा परेको छ।

चितवनबाट निर्वाचित खनाल नेकपा एमालेको केन्द्रीय सदस्य समेत थिए। उनले मुख्यमन्त्रीलाई सहज होस् भनेर राजीनामा गरेको बताएका छन्। मुख्यमन्त्री र आफ्नो दल फरक परेकाले राजीनामा दिएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्