बाइडेन भन्छन्ः उद्देश्य पुरा भएका कारण अफगानिस्तान बसिरहनुको अर्थ थिएन

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  १० : ३०


अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्ना सेनालाई फिर्ता गर्ने कदमको पुनः बचाउन गर्दै उद्देश्य पुरा भएका कारण त्यहाँ बसिरहनुको अर्थ नभएको बताएका छन्। यसअघि अमेरिकी सेनाहरु फिर्ता गर्दैगर्दा तालिबानले अफगानिस्तानका विभिन्न प्रान्तहरु कब्जा गरिरहेका समयमा बाइडेनको आलोचना भएको थियो। त्यसबेला पनि बाइडेनले सेना फर्काउने निर्णयको बचाउ गर्दै भनेका थिए,‘त्यहाँका सेनाले लड्न नचाहेको युद्ध अमेरिकी सेनाले लड्न सक्दैन।’

तालिबानसँगको सहमतिअनुसार अमेरिकी सेना मंगलबारसम्म अफगानिस्तान फर्किसक्नु पर्ने थियो। सोमबार राति नै अमेरिकी सेनाहरुले अफगानिस्तान छाडिसकेका थिए। यससँगै अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य भएको छ। सन् २००१ देखि अमेरिकी सेनाले अफगानिस्तानमा रहेर तालिबानविरुद्ध लडेको थियो।

अफगानिस्तानमा २० वर्ष लामो अमेरिकी उपस्थिति अन्त्य भएको भोलिपल्ट राष्ट्रका नाममा सम्बोधन गर्दै बाइडेनले भने,‘अझै त्यहाँ बसिरहनुको अर्थ थिएन।’ उनले तालिबान शासनलाई छल्न अफगानिस्तानबाट बाहिर निस्कन चाहने एक लाख २० हजारभन्दा बढीको हवाई उद्धार गरेकोमा सेनाको प्रशंसा गरे।

इस्लामिक विद्रोही समूह तालिबानले चाहिँ अमेरिकी बहिर्गमनलाई जितका रूपमा अर्थ्याउँदै उत्सव मनाएको छ। उनीहरुले पटेका र बन्दुक पड्काएर सँगै लड्डु खाएर अमेरिकी बहिर्गमनको उत्सव मनाएका थिउ।

मङ्गलबारको सम्बोधनमा बाइडनले आम उद्धार कार्यका लागि सेनाको प्रशंसा गरे र अझै अफगानिस्तानमा रहेका र अमेरिका जान चाहने करिब २०० मानिसहरूको उद्धार गर्न लगातार प्रयास गर्ने प्रतिबद्धता पनि जनाए।

उनले फौज फिर्ता गर्ने निर्णयको कडा रूपमा बचाउ गर्दै भनेका छन्,‘म त्यसलाई सधैँको युद्धका रूपमा बिस्तार गर्न गइरहेको थिइनँ, अफगानिस्तानमा अब युद्ध समाप्त भएको छ।’ उनले चुनावी अभियानको क्रममा आफूले गरेको वाचाअनुरुप अफगानिस्तानको युद्ध अन्त्य गरेको पनि उल्लेख गरे। अफगानिस्तानबाट सेना फर्काउनुलाई उनले ठूलो जित भनेका छन्।

उनले काबुल विस्फोटनमा मारिएका १३ अमेरिकी सेनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुले अमेरिकी नागरिककै लागि ज्यान आहुती दिएको बताए। अमेरिकी नागरिक तथा कूटनीतिज्ञ फर्काउने अभियानमा उनीहरु काबुल विमानस्थलमा गत तैनाथ थिए।

सीएनएनका अनुसार बाइडेनले अमेरिकी डिजाइनअनुसार नै युद्ध अन्त्य भएको हो साथै उद्देश्य सफल भएकै कारण त्यहाँबाट अमेरिकी सेना फर्किएको हो।

यो पनिः अफगानिस्तानबाट फर्कियो अन्तिम अमेरिकी विमान, अन्त्य भयो अमेरिकाको सबैभन्दा लामो युद्ध

-७५ हजार तालिबानले ३ लाख अफगान सेनालाई कसरी जित्यो?


प्रतिक्रिया दिनुहोस्