दार्चुला तुइन घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा : प्रतिवेदन

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ८ : ३१


काठमाडौं । तुइन तर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका-२ का जयसिंह धामी बेपत्ता भएको घटनाको सम्बन्धमा छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजत्वमा गठित छानविन समितिले आज गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए।

प्रतिवेदनमा भारतीय एसएसबीका सुरक्षाकर्मीको संलग्नतामा तुइन काटिएको उल्लेख गरिएको छ।

प्रतिवेदनमा भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकाले निजहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारवाही गर्न तथा धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्ने उल्लेख छ।

साथै धामीका परिवारलाई सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न समितिले सरकारलाई सिफारिस पनि गरेको छ।

धामी गत १५ साउनम भारत जाने क्रममा व्यास-२ मा अवस्थित मालघाटबाट तुइनको प्रयोग गर्दा भारतीय एसएसबीका सुरक्षाकर्मीले तुइन काट्दा धामी नदीमा खसेर बेपत्ता भएका थिए।

घटनापछि सरकारले १७ साउनमा सहसचिव गौतमको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो।


प्रतिक्रिया दिनुहोस्