…त्यसपछि घर छाडेर डेरा सर्नुपर्‍यो

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ७ : ४४


तनहुँ । लगातारको झरी थामियो। आकाश खुलेको छ परपरसम्म। एक/दुईवटाबाहेक बादलका टुक्रा देखिँदैनन् आकाशमा। झरीले निथ्रुक्कै हुने गरी भिजेको भिमाद बजार मनमोहक लाग्छ।

हो, धेरै दिनपछि भिमादको मौसमले लोभ्याउँदै छ।

झरि थामिएर मौसम उघ्रिएपछि मान्छेहरू सहजै आफ्नो दैनिकीमा फर्किए। दिनभर, रातभर लगातारको झरीले हैरानी बेहोरेका स्थानीय पनि खुलेका छन्।

तर, प्रकाश कलकलको मन भने अझै खुलेको छैन । झरी पर्नुअघि धुम्मिएको आकाशभन्दा कम्ता भएको छैन उनको मन। कारण, उनी जन्मेर हुर्के, बढेको घर झरीले जोखिममा पारेको छ।

दिउँसोको साढे १ बजेको छ घडीमा। खित्रिङमित्रिङ सरसामान लिएर सुरक्षित ठाउँतिर सर्दै छ, कलकल परिवार। भिमाद नगरपालिका-६ कुमारचोकमा वर्षौं पुरानो होटेल चलाउँछन् उनले।

यस घरसँग सुखदुःख मात्र जोडिएको थिएन उनको। पुर्खाको चिनो पनि जोडिएको छ। त्यसैले त पुर्ख्यौली घर छाड्नुपर्दा उनको मन भारी छ। उमेरले छ दशक टेक्न लागेका कलकल धन्न १ भाग्यले बाँचे।

सेती नदीको माथिल्लो भाग, भिमाद बजारको कुमारचोकमा घर पछाडिको भाग लगातारको झरीपछि सेतीमै मिल्यो । उनको घरमै पहिरो जोडिएको छ। घरको पछाडिपट्टिको भाग पहिरोले निल्यो।

शौचालय र भाँडाकुँडा सबै सेतीमै खसे। राती ३ बज्न लागेको हुँदो हो पहिरोले शौचालयको टिन सेतीको किनारमा बजारिँदा मस्त निद्रामा सुतेका प्रकाश एक्कासि ब्युँझिए।

घर छाड्न उनलाई रहर थिएन, बाध्यता आइलाग्यो। निष्ठुरी प्रकृतिले विपत्ति निम्ताइदियो। उठेर हेर्दा कोठाभन्दा पर बाँकी केही रहेन। त्यहाँ बस्न जोखिम भएपछि नजिकै डेरा खोजेर सर्दै गरेको प्रकाशले सुनाए।

‘घर बस्न मिल्ने भएन । अर्को घर बनाएको छैन। बाहालमा बस्न जान लागेको। धन्न १ एउटा कोठा पा’को छु। यहाँ बस्नलाई डरलाग्दो भो, बाँच्न त पर्‍यो नि!’, उनले भने।

उनले बडो संघर्षले बनाएको घर बस्न मिलेन। बेलामै नदी किनारमा तटबन्ध लगाएकोे भए यो अवस्था नआउने उनको भनाइ छ । ‘पहिला तलबाट उठाएर तटबन्ध हुन्छ भनेझैँ गरिदिएको भए धेरै राम्रो हुन्थ्यो केरे ! त्यो बेला नि एक करोड आ’छ बजेट भन्नी सुनाए, काम पनि भएन । अहिले सरकारले वास्तै गर्न छाड्यो’, उनले भने।

प्रकाशको घर पछाडिको जमिन सेतीमा मिसिएपछि छिमेकीको घर पनि जोखिममा छ । कुन बेला घर खस्ने हो, टुलुटुलु हेरेर बसेका छन्। जोखिम बढेपछि धेरैले घर छाडे । घर सर्न नसक्नेहरू पहिरोसँगै जोडिएको घर रुङेरै बसेका छन्। कुन बेला घर सेतीको तिरमा झर्छ अनि व्यवस्था गरौँला भन्नेमै छन् उनीहरू।

उसै त झरीले जमिन कमजोर छ । सवारीको भारले पहिरो खस्ने डर उत्तिकै छ। त्यसैले मूल सडकमा अहिले सवारी आवागमन रोकिएको छ।

पछिल्लो एक सातायता परेको निरन्तरको वर्षाले ठाउँठाउँमा पहिरो खस्यो। कुमारचोकका करिब एक दर्जन घर पछाडिबाट पहिरो खसेको छ। धन्न १ एक इन्चले घर बचेका छन्।

तीन दर्जन घरको पनि सेती नदीतिरको डिल खस्दै गएपछि घरभन्दा बाहिर बाँकी जमिन छैन । तैपनि जोखिम मोलेरै दिनभर व्यापार व्यवसाय चलाइरहेका छन् व्यापारीहरू।

पहिरोले जोखिम बढाएपछि दिनभर व्यापार गर्ने र रातमा बास बस्न अन्तै जानेको गरेको माया हिराचनले बताइन्। ‘पहिला घरको पछाडि तरकारी लगाउने ठाउँसमेत थियो। अहिले पहिरो खस्दाखस्दा शौचालय पनि छैन। दिउँसो व्यपार गरे पनि राती यहाँ बस्न सक्दैनौँ’, उनले भनिन्।

दिउँसो पनि कुन बेला पहिरो खस्छ, केही भर छैन। किन जोखिम मोलेर व्यापार गरेको रु भनेर सोध्न नभ्याउँदै उनको जबाफ थियो, ‘बाध्यता हो नि १ अन्त हाम्रो व्यापार गर्ने ठाउँ छैन। पानी पर्न थालेपछि डराईडराई व्यपार गरिन्छ । दिनमा बसे पनि राती यहाँ बसिन्नँ।’

वडा अध्यक्ष श्यामसुन्दर जोशीका अनुसार २०५२ सालदेखि सेतीमा पहिरो खस्न थालेको हो। प्रायः घरबाट सेतीको डिलसम्म १५ मिटरसम्मको दूरी थियो। तर, अहिले निकै कम छ। ४१ वटा घर बस्नै नमिल्ने गरी जोखिममा रहेका वडा अध्यक्ष जोशीले बताए।

यसरी नै पहिरो खसिरहे नदीतर्फको मात्र नभएर कुमारचोकको पूरै बस्ती जोखिममा पर्ने उनी बताउँछन्। नदी कटान र पहिरो रोक्लाई बर्सेनि वडा र नगरले बजेट विनियोजन गरिरहेको उनको भनाइ छ।

प्राकृतिक विपत्ति रोकथामका लागि सानो बजेट छुट्याउँदा उल्लेखनीय काम नभएको उनले बताए । ‘नगरको बजेटले नपुग्ने, संघ र प्रदेशले विनियोजन नगर्दा बृहत् तटबन्धको काम भएको छैन’, उनले भने।

बस्ती जोगाउनलाई नगरपालिकाको बजेटले गत वर्ष नै डीपीआर तयार गरेको तर काम सुरु नभएको उनले बताए। गत वर्ष प्रदेश सरकारले एक करोड रुपैयाँ र संघीय सरकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

‘गत साल नै हामी टेन्डर लगाउँछौँ, ठेकदारले पेस्की बुझेर बस्छ, भदौ/असोजदेखि काम सुरु हुन्छ भनेपछि हामी ढुक्क भएर बस्यौँ। टेन्डर पनि भएन। अहिले प्रदेशले जम्मा ३० लाख रुपैयाँ बजेट हालिदिएछ। प्रदेश सरकारले के गरेको हो?’, उनले भने।

नदी तटबन्धनको काम जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँ मातहातमा छ। कार्यालयका अनुसार भिमाद कुमारचोक सेती नदी तटबन्धका लागि १७ करोड रुपैयाँको डीपीआर तयार भएको हो। डीपीआर स्वीकृतिका लागि गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयलाई पत्र पठाएको कार्यालयकी प्रमुख सिनियर डिभिजन इञ्जिनियर दीपा गौतमले बताइन्।

‘हाम्रो कार्यालयको समग्र बजेट १५/१६ करोडभन्दा हुँदैन। ठूलो रकमको योजना भएकाले मन्त्रालयमा विचाराधीन छ’, उनले भनिन्। संघीय सरकारले बजेट पठाएको खण्डमा तुरुन्त काम सुरु गर्ने उनको दाबी छ। सेती नदी तटबन्धका लागि संघीय सरकारले ३० लाख रुपैयाँ र प्रदेशबाट ४० लाख रुपैयाँ विनियोजन भएको उनले जानकारी दिइन्।

-न्युज कारखाना


प्रतिक्रिया दिनुहोस्