मनै लोभ्याउने महाबु धाम : चलचित्र हब बनाउने योजना

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ७ : ०२


दैलेख । वरिपरि हरियाली देखिने दैलेख जिल्लाको सबैभन्दा अग्लो स्थान हो महाबु धाम। पाटन वरपर फुलेका हरिया रंगीन घाँस र थरीथरीका फूलहरू सिरसिर चल्ने हावासँगै नाच्न थाल्छन्। पाटनभरि चराचुरुङ्गी चिरबिराउँछन्। हरेक दिन घामको पहिलो स्पर्शसँगै ब्युँझिन्छ महाबु धाम।

समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको यो धाम दैलेखको महाबु र कालीकोटको महाबै गाउँपालिकाको बीचमा पर्छ। महाबुकै नामबाट यी दुई स्थानीय तहको नाम महाबु र महाबै रहन गएको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट ६७ किलोमिटर दूरीमा दैलेख सदरमुकाम रहेको छ।

त्यहाँबाट ४५ किलोमिटर सवारी साधनमा र करिब एक किलोमिटर पैदल यात्रापछि यो धाम पुग्न सकिन्छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो धाम पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ।

पाटनका बीचबीचमा ससाना ताल, नजिकै केही गाईगोठ र वरपर चौरमा भेडाबाख्रा चरनले महाबुको सौन्दर्य अतिमनमोहक बनाएको छ। यस ठाउँलाई कसैले शान्तिभूमिको संज्ञा दिन्छन् त कोही यसलाई स्वर्ग ठान्छन्। यताउति बुकी फुलेर सेताम्य छ। हावाको सिरेटोसँग फूल हल्लिरइहेका हेर्न उत्तिकै आनन्द आउँछ। त्यसैमाथि विभिन्न रंगीविर‌ंगी फूलले विवाह मण्डलझैँ देख्दा जति हेरे पनि धित मर्दैन।

पहिलो प्रेममा पर्ने बेलाका प्रेमिल जोडीहरू जसरी एकअर्काको आखाँमा हेरेर थाक्दैनन्, त्यसरी नै पर्यटकलाई तानिरहन्छ महाबुले।

तर, उचित पूर्वाधार र प्रचार प्रसारको अभावमा महाबुले आफ्नो सौन्दर्य टाढाटाढासम्म फैलाउन सकिरहेको छैन।

समुद्र सहतबाट चार हजार १६८ मिटर अग्लो स्थानमा रहेको महाबु धाम प्रचुर पर्यटकीय संभावना बोकेको स्थान हो। भौगोलिक रूपमा विकट र पूर्वाधारको अभाव भए तापनि यो स्थान धार्मिक तथा पर्यटकीय रूपमा दैलेखकै महत्त्वपूर्ण स्थानका रूपमा चिनिन्छ।

महाबु धाम, जगन्नाथ र महाबईका पवित्र मन्दिरहरू यस स्थानमा पर्ने हुनाले यो एक पवित्र धार्मिक स्थलसमेत हो। महाबुको चुचुरोबाट दैलेख, कालीकोट, जुम्ला र जाजरकोट जिल्लाका अधिकांश भूभागसहित सुर्खेत, बाजुरा, अछाम, हुम्ला, मुगु जिल्लाका शिखरहरूको रमणीय दृश्य नजिकबाट नियाल्न सकिने स्थानीय झलक गिरी बताउँछन्।

पर्यटकीय हिसाबले थुप्रै संभावना बोकेको भन्दै महाबुलाई यहाँको पर्यटन प्रबर्द्धनमा सहयोगी बनाउन पालिका निरन्तर लागिपरेको गाउँपालिका अध्यक्ष जंगबहादुर शाही बताउँछन्। ‘डेढ सय जना बस्न मिल्ने भवन, गाडी पार्किङस्थल, खानेपानीको व्यवस्था, पदमार्गलगायतका पूर्वाधारको व्यवस्था गरिरहेका छौँ’, उनले भने।

ढुंगाबाटै फुटेर शिवलिंग

रमणीय मात्र नभएर धार्मिक रूपमा पनि उत्तिकै महत्त्वपूर्ण मानिएको महाबुमा अवस्थित यस स्थानमा ढुंगाबाट उत्पत्ति भएको शिवलिंग छ।

परंपरागत रूपमा भगवान् शिवको उत्पत्ति भएको कैलाश स्थानका रूपमा महाबु धाम प्रख्यात छ । दैलेख भुर्तीका बोल्न नसक्ने आचार्य ब्राह्मणका छोरा पाटनमा भैँसी चराउन गएका बेला ढुंगामा सुतेको अवस्थामा शिवको दर्शन पाएपछि उक्त ढुंगामा दिनहुँ दूध चढाउनुपर्ने र कसैलाई यो कुरा नभन्ने शर्त भएबमोजिम उनलाई बोल्न र वेद पढ्नसमेत आएको स्थानीय विश्वास छ ।

स्थानीय नरेन्द्र उपाध्यायका अनुसार दिनहुँ दूध चढाइने उक्त ढुंगाबाटै फुटेर शिवलिंग बनेको अहिले पनि जस्ताको तस्तै देख्न सकिन्छ। दैलेख, भुर्तीका आचार्य ब्राह्मणले ल्याएको दूध चढाउने र कालीकोटका काफ्लेले नै अहिलेसम्म शिव देवताको पहिलो पूजा गर्ने गरेका छन्।

सधैँझैँ यस वर्ष पनि महाबु (गाथ) जानेको घुइँचो उस्तै देखिएको थियो। यात्रुलाई ज्यानको बाजी थापेर मेलामा पुग्नुपर्ने बाध्यता छ। यस वर्ष पनि कालीकोट, जाजरकोट, दैलेख, सुर्खेत, नेपालगंजलगायतका ठाउँबाट तीर्थालु उत्तिकै पुगेका छन्।

जनै पूर्णिमामा लाग्छ दुई दिनसम्म महाबु मेला

जनै पूर्णिमामा महाबु (गाथ) मेला दुई दिन लाग्ने गर्छ । यहाँ जनै पूर्णिमाका दिन भक्तजनको भीड लाग्ने गर्छ । वर्षात्‌को समय भएकाले पनि यहाँ बिहानीपख सूर्योदयसँगै घामका किरणले शरीर तातिए पनि छिनछिनको हुस्सु र कुहिरोले शरीरमा काँडा निकाल्छ।

छिनछिनमै घाम र कुहिरोको लुकामारीले महाबु मेलामा मनोकांक्षा लिएर गएका हजारौँ भक्तजनले छुट्टै आनन्द लिने गर्छन्।

आफूले मागेको वरदान पूरा हुने जनविश्वास

महाबुको प्राकृतिक, भौगोलिक तथा पर्यटकीय महत्त्व त छ नै, धार्मिक गरिमा पनि उत्तिकै छ। पाटनको बीचमा ढुंगामाथि रहेको देवतालाई महाबु जगन्नाथ भनिन्छ।

महाबु जगन्नाथलाई महादेवको रूपमा लिइन्छ । जगन्नाथको पूजा आराधना गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ। सन्तान नहुने परिवारलाई सन्तानलाभ हुने बूढापाका बताउँछन्।

महाबुलाई चलचित्र हब बनाइँदै

पर्यटकीय रूपमा थुप्रै संभावना बोकेको महाबु धामलाई चलचित्र हब बनाइने गाउँपालिका अध्यक्ष शाहीले बताए। ‘चलचित्र निर्माणका लागि अत्यन्त सुन्दर र रमणीय ठाउँ भएकाले चलचित्र विकास बोर्ड आएर अनुगमन गरिसकेको छ’, उनले भने।

प्रदेश सरकार र स्थानीय तहको प्रमुख भूमिका हुने भन्दै यसमा चलचित्र विकास बार्डले संयोजन मात्र गरिदिने चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष तथा फिल्म दिर्देशक, निर्माता दयाराम दाहालले बताए।

उनले भने, ‘चलचित्र हबका लागि प्रदेश सरकार र केन्द्र सरकारसँग अनुरोध गरिसकेका छौँ।’

यता, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मुनबहादुर रावतले डल्लो बजेट रहेको र उक्त बजेट स्वीकृत नभएको बताए।

उनले भने, ‘बजेट तयार छ तर स्वीकृत भइसकेको अवस्था छैन, स्वीकृत भएपछि जानकारी दिन्छु।’

जितेन्द्र थापा/न्युज कारखाना


प्रतिक्रिया दिनुहोस्