किम फेरि आणविक हतियार बनाउन तत्पर, प्लुटोनियम उत्पादन केन्द्र सञ्चालनमा ल्याए

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ४ : ३७


उत्तर कोरिया फेरि आणविक हतियार बनाउन तत्पर देखिएको छ। संयुक्त राष्ट्रसंघ, युरोपेली युनियनको प्रतिबन्धका बाबजुद उत्तर कोरियाले एउटा पारमाणविक रियक्टर पुनः सञ्चालनमा ल्याएको र त्यसले पारमाणविक अस्त्रका लागि प्लुटोनियम उत्पादन गर्ने ठानिएको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ।

अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सी आईएईएले भनेको छ,‘यङब्युन रियक्टरले जुलाई महिनादेखि नै चिस्यान गर्ने पानी फालिरहेका सङ्केतहरू फेला परेका छन्।’ त्यसबाट उक्त पारमाणविक रियक्टर सञ्चालनमा रहेको बुझिन्छ। त्यो केन्द्र सन् २०१८ देखि निष्क्रिय थियो।

भूउपग्रहमार्फत्‌ सो पारमाणविक केन्द्रको पर्यवेक्षण गर्ने गरेको आईएईएले पछिल्लो विकासक्रमलाई गहिरो चिन्ताको विषयको रूपमा अर्थ्याएको छ। साथै राष्ट्रसंघको सुरक्षा परिषद्‌ले पारित गरेका सङ्कल्प प्रस्तावहरूको पनि त्यसबाट उल्लङ्घन भएको आईएईएले जनाएको छ।

सन् २००९ मा उत्तर कोरियाले आईएईएका पर्यवेक्षकहरूलाई फिर्ता पठाइदिएको थियो। गत ज्यानुअरीमा उत्तर कोरियाली नेता किम जङ–उनले देशको पारमाणविक क्षमतामा आधुनिकीकरण गर्न चाहेको बताएका थिए।

प्योङ्याङले प्लुटोनियम उत्पादन थालेकै हो भने त्यसले अमेरिकी राष्ट्रपति जो बाइडनका निम्ति एउटा ठूलो वैदेशिक सङ्कट निम्त्याउनेछ। दक्षिण कोरियाका विदेशमन्त्रीले आफ्नो सरकारले उत्तर कोरियाली पारमाणविक तथा क्षेप्यास्त्र गतिविधिहरूलाई अमेरिकासँगको सहकार्यमा नजिकबाट निरन्तर हेरिरहेको योन्हाप समाचारसंस्थालाई भनेका छन्।

आईएईएका पर्यवेक्षकहरूलाई फिर्ता पठाएयता उत्तर कोरियाले पारमाणविक विकासलाई निरन्तरता दिँदै आएको छ। सन् २०१७ मा उसले पछिल्लो पारमाणविक परीक्षण गरेको थियो। बीबीसी संवाददाता लउरा बिकर भन्छिन्,‘किम जङ–उनले तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको वार्ताको केन्द्रमा यङब्युन पारमाणविक केन्द्रलाई राखेका थिए।’

आर्थिक नाकाबन्दी खुकुलो पारिए उक्त पारमाणविक केन्द्रलाई भङ्ग पार्ने सहमतिलाई त्यति बेला ट्रम्पले अस्वीकार गरेको बताइन्छ। सन् २०१९ मा हनोईमा ट्रम्प र किमबीच भएको वार्तालाई सोही मुद्दाले विफलतातर्फ डोर्‍याएको बताइन्छ। यदी उत्तरको माग अनुसार आफूमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्धहरु हटेका भए उत्तरले क्षेप्यास्त्र, अणविक हतियारजस्ता कार्यक्रम त्यहीबेला त्याग्ने बताएको थियो। तर ट्रम्पले त्यसबेला किमसँग सम्झौता गर्न चाहेनन्। बीबीसी


प्रतिक्रिया दिनुहोस्