अल–कायदाका सहयोगी ओसामा बिन लादेनका पूर्व सुरक्षा प्रमुख अफगानिस्तान फर्किए

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  २ : ३०


अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएपछि र अमेरिकी सेना त्यहाँबाट फर्किएपछि ओसामा बिन लादेनका पूर्व सुरक्षा प्रमुख अमिन–उल–हक आफ्नो घर फर्किएका छन्। हालै सार्वजनिक भएको भिडिओमा अलकायदाका सहयोगी हक सोमबार अफगानिस्तान फर्किएको देखिएको हो। उनी नान्गरहार प्रान्तमा आफ्ना सहयोगीसँग देखिएको बीबीसीले जनाएको छ। तालिबानले यसै महिनाको १५ तारिखमा राजधानी काबुल कब्जा गर्न अगाडि मात्र नान्गरहार प्रान्तको राजधानी जलालाबाद आफ्नो नियन्त्रण कायम गरेको थियो।

अमेरिकाले अफगानिस्तानको तोरा–बोराको सुरुङमा आक्रमण गर्दा ओसामा बिन लादेन र अमिन–उल–हक एकैपटक भागेको बताइन्छ। सन् २०११ मा जब अफगानिस्तानमा अमेरिकाले लादेन खोज्न आक्रमण गरेको थियो। त्यसबेला पाकिस्तानसँगको सीमा क्षेत्र तोरा–बोरामा उनीहरु सुरुङमा लुकेका थिए र तालिबानका सदस्य अमिन–उल–हकले लादेनको सुरक्षाको जिम्मा लिएका थिए।

यसअघि सन् २००१ मा लादेन नसुम्पिएकै कारण अमेरिकाले तालिबानमाथि आक्रमण गरेको थियो। लादेनकै योजनामा सन् २००१ सेप्टेम्बर ११ का दिन अमेरिकामा आतंकवादी आक्रमण भएको थियो। मिडिया रिपोर्टकाअनुसार हकलाई पाकिस्तानमा सन् २००८ मा गिरफ्तार गरिएको थियो तर २०११ मा उनी रिहा भएका थिए। रिपोर्टका अनुसार हकको नाम अझै पनि अमेरिकी सरकारको विशेष अन्तर्राष्ट्रिय आतंकवादीको सूचीमा सामिल छ। बीबीसी

यो पनिः अमेरिकामा ९/११ जस्तो भयानक घटना गराउने अल–कायदाले तालिबानलाई दियो बधाई


प्रतिक्रिया दिनुहोस्