इजरायलले लाने नेपाली केयरगिभरको परीक्षा भदौको अन्तिम साता हुने

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  १ : २२


केयरगिभरका लागि इजरायल जाने नेपालीहरूको भाषा परीक्षा भदौ अन्तिम साता हुने भएको छ। रोजजगारीका लागि आवेदन दिई वैदेशिक रोजगार विभागबाट स्वीकृत भएकाहरूको भदौ २८ गते अंग्रेजी भाषाको लिखित परीक्षा हुने वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बताएका छन्

उनका अनुसार परीक्षा काठमाडौंका विभिन्न केन्द्रमा दिउँसो १ बजेदेखि भौतिक उपस्थितिमा हुनेछ। केन्द्रका सम्बन्धमा परीक्षार्थीहरूको प्रवेशपत्र तथा विभागको वेवसाइट https://dofe.gov.np मार्फत जानकारी गराइने विभागले जानकारी दिएको छ। प्रवेशपत्र अनलाइनमार्फत् उपलब्ध हुनेछ।

भाषा परीक्षा तोकिएका विज्ञ व्यक्तिको सहयोगमा गरिनेछ। भाषा परीक्षापछि परीक्षार्थीले प्राप्त गरेको अंक सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा विज्ञले प्रविष्ट गरिदिने व्यवस्था छ। सोही प्राप्तांकका आधारमा छनोट समितिले योग्यताक्रम कायम गरी इजरायलबाट प्राप्त मागअनुसारभन्दा २५ प्रतिशत बढी उम्मेद्वारको नामवाली तयार गर्ने विभागले जनाएको छ।

सो नामावली विभागले इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी पीआइबीएलाई पठाई सोको विवरण विभागको वेवसाइटमा प्रकाशन गर्नेछ। विभागले पठाएको सूचीबाट इजरायलको पिआइबीएले छनोट गर्नेछ। अहिले सरकारले पठाउन लागेका केयरगिभर घरका लागि नभएर संस्थाका लागि भएको विभागले बताएको छ। विभागकाअनुसार नर्सिङ होम तथा केयर होमलगायत संस्थामा उनीहरूले रोजगारी पाउने छन्। भिसा अवधि पाँच वर्षको रहेको छ। कमाई मासिक १६ सय अमेरिकी डलर हुने उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्