अफगानिस्तानबाट फर्कियो अन्तिम अमेरिकी विमान, अन्त्य भयो अमेरिकाको सबैभन्दा लामो युद्ध

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  १० : ३५


अमेरिकाको सबैभन्दा लामो युद्धको अन्त्य भएको छ। अफगानिस्तानबाट अन्तिम अमेरिकी विमान फर्किएसँगै तालिबानसँगको २० वर्षे युद्ध अन्त्य भएको हो। अमेरिकी रक्षा विभागले एउटा तस्बिर सार्वजनिक गरेको छ र त्यहाँ एक सेना देखिएको छ। उक्त अमेरिकी सेना अफगानिस्तानबाट फर्किएको अन्तिम सेना भएको बताइएको छ।

काबुलबाट अमेरिकी अन्तिम विमान सी–१७ अमेरिका उडिसेकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। यसैबीच अफगानिस्तानबाट सेना तथा नागरिक फिर्तीको प्रक्रिया पुरा भएसँगै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका र अफगानिस्तानबीच नयाँ कूटनीतिक मिसन सुरुवात भएको बताएका छन्।

ब्लिंकेनका अनुसार अमेरिकाले काबुलमा आफ्नो दूतावास बन्द गरेको छ। यद्यपी अफगानिस्तान हेर्नको लागि अमेरिकी दूतावास कतारको दोहामा स्थान्तरण गरिनेछ। अमेरिकी सेनाहरुले अफगानिस्तान छाडेसँगै तालिबानले सोमबार राति बन्दुक पड्काएर खुसीयाली मनाएको बताइएको छ।

काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जेनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी भएको बताइएको छ। सेना फिर्ती अभियानको सुपरिवेक्षण गरेका जेनरल फ्र्याङ्क मकेन्जीले अमेरिकाले पछिल्ला केही सातामा झन्डै ८० हजार व्यक्तिको उद्धार गरेको बताए।

अमेरिकी सेनाका सेन्ट्रल कमान्डका प्रमुख जेनरल मकेन्जीले भने,‘हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभन्टीन विमान उडेको छ। योसँगै सैन्य उद्धारको पाटोका साथै २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको छ। जुन मिसन सन् २००१ को सेप्टेम्बर ११ लगत्तै सुरु भएको थियो र जसअन्तर्गत ओसामा बिन लादेन तथा उनका थुप्रै अलकायदा षड्यन्त्रकारीहरूमाथि कारबाही भएको थियो।’ उनले अफगानिस्तानमा अमेरिकी उपस्थितिका कारण उच्च मूल्य चुकाउनुपरेको र दुई दशकमा २४ सय अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएको बताए।

अमेरिकी सेनाहरु अफगानिस्तानबाट फर्किएपछि अब अफगानिस्तानमा तालिबानको पूर्ण नियन्त्रण भएको छ। तालिबानको शासन व्यवस्था कस्तो हुन्छ भनेर निश्चित भइसकेको छैन। तर तालिबानले पहिलेभन्दा यसपटकको शासन अलग हुने तालिबानको भनाइ छ। १४ अगष्टदेखि अहिलेसम्म अमेरिकी सेनाले ६ हजार अमेरिकी नागरिकसहित १ लाख २३ हजार को अफगानिस्तानबाट उद्धार गरेको छ। अमेरिकाको सहयोगी राष्ट्रले पनि हजारौं अफगान नागरिकको उद्धार गर्यो। बीबीसी


प्रतिक्रिया दिनुहोस्