दाङमा चर्किंदै चिकित्सकको आन्दोलन

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ८ : ४७


दाङका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सडक आन्दोलन चर्काउँदै गएका छन्।

विगत चार दिनदेखि आन्दोलनरत जिल्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीले सडक आन्दोलनलाई चर्काउन थालेका हुन्।

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.विनोद सिंहमाथि नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका जिल्ला संयोजक, सहसंयोजकसहितको समूहले कार्यकक्षमै मोसो दलेको घटनालाई लिएर यहाँको स्वास्थ्य क्षेत्र अहिले आन्दोलित भएको छ । विद्यार्थी नेतालाई प्रहरीले पक्राउ नगरेको, कानुनी कारबाही गर्न नसकेको र चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षा नभएको भन्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्।

आइतबार सयौँको संख्यामा तुलसीपुरमा सडक आन्दोलन गरेका थिए भने सोमबार घोराही क्षेत्रमा सुरक्षाको माग र दोषीलाई काराबाहीको माग गर्दै सडक आन्दोलन गरेका छन्।

दोषीलाई कारबाहीको माग, चिकित्सकलाई न्यायको माग र सुरक्षाको प्रत्याभूति गर्न माग गर्दे नाराबाजीसहित स्वास्थ्यकर्मीहरूले र्‍याली निकालेका छन्।

दोषीलाई कारबाही र स्वास्थ्यकर्मीलाई सुरक्षाको माग गर्दै अस्पतालको आकस्मिकबाहेकका अन्य सेवा बन्द गरेर स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएको संघर्ष समितिका संयोजक डा.ओम अर्यालले बताए।

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्रीको समूहले ११ भदौमा डा। सिंहलाई कार्यकक्षमै प्रवेश गरी मोसो दलेको थियो।

चार दिनसम्म मोसो दल्ने व्यक्ति पक्राउ नपरेपछि दाङका स्वास्थ्यकर्मीहरू लगातार विरोधका कार्यक्रम गर्दै आइरहेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले घटनामा संलग्नको खोजी जारी राखिएको भन्दै कानुनी दायरामा ल्याइने बताए।

नेपाल चिकितसक संघका उपाध्यक्ष किशोर खत्रीले दोषीलाई कानुनी दायरामा नलयाउँदासम्म र सुरक्षाको प्रत्याभूति नहुँदासम्म आन्दोलन निरन्तर रूपमा अघि बढ्ने बताए।


प्रतिक्रिया दिनुहोस्