चीनमा अब सात वर्षसम्मका विद्यार्थीले परीक्षा दिन नपर्ने

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ६ : ०२


चीनमा अब ६ र सात वर्षका बालबालिकाले परीक्षा दिनु नपर्ने भएको छ। उच्च प्रतिष्प्रर्धात्मक शिक्षा प्रणालीमा पढाइबारे विद्यार्थी तथा अभिभावको तनाब बढिरहेका बेला चीन सरकारले यस्तो निर्णय गरेको हो।

यसअघि प्राथमिक तहको पहिलो वर्षदेखि विश्वविद्यालय तहसम्मका विद्यार्थीले परीक्षा दिनुपर्दथ्यो। तर, सो अभ्यास विद्यार्थीको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर गर्ने शिक्षा मन्त्रालयले जनाएको छ।

एक विज्ञप्तिमा मन्त्रालयले भनेको छ, ‘परीक्षा विद्यालय शिक्षाको आवश्यक अंश हो।’ तर, केही विद्यालयमा धेरै परीक्षा सञ्चालन गरिन्छ, जसकारण विद्यार्थी र अभिभावक दुवैलाई बोझ हुने गरेको छ। नयाँ नियमअनुसार विद्यालयले लिने परीक्षा संख्या पनि घटाइएको छ।

‘प्राथमिक विद्यालयका पहिलो र दोस्रो कक्षाका विद्यार्थीले पेपरमा आधारित लिखित जाँच दिनुपर्दैन। अन्य कक्षाका लागि विद्यालयले अन्तिम परीक्षा सञ्चालन गर्न सक्नेछ। निम्न माध्यामिक विद्यालयका लागि अर्धवार्षिक परीक्षा गर्न अनुमति दिइएको छ,’ मन्त्रालयले भनेको छ। त्यस्तै, जुनियर र सिनियर तह हेरी साप्ताहिक टेस्ट, मासिक परीक्षामा पनि नयाँ व्यवस्था गरेको छ।

सरकारको पछिल्लो निर्णयप्रति सामाजिक सञ्जालका प्रयोगकर्ताले सकरात्मक प्रतिकृया दिएका छन्।

नयाँ नियमले बालबालिकालाई दबाबबाट मुक्त गर्ने धेरैको विश्वास छ। तर केहीले परीक्षाबिना नै विद्यालयले विद्यार्थीको मुल्यांकन गर्न नमिल्ने बताएका छन्।


प्रतिक्रिया दिनुहोस्