कमेडी च्याम्पिय शृंखला-२ : रोएको मनले दुनियाँ हँसाउने गोर्खाली सन्तोष

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ३ : २७


गोरखा । हिजोआज शुक्रबार र शनिबार आउन्नै हुन्न, गोरखाको पालुङटार नगरपालिका—६ का ९३ वर्षीय कुलबहादुर थापा, उनकी श्रीमती ८६ वर्षीया नन्दकुमारी र ५६ वर्षीया बुहारी सीतालाई घडीको सुई जतिसक्दो छिटो घुमेर ९ बजिदिए हुन्थ्यो जस्तो लाग्छ।

कारण– ‘अहिले प्रत्येक शुक्रबार र शनिबार राति ९ बजेदेखि कान्तिपुर टेलिभिजनमा ‘कमेडी च्याम्पियन सिजन–२’ आउने गर्छ।’

उनीहरू कमेडी खासै बुझ्दैन्, कमेडी च्याम्पियन भनेको के हो? अझै राम्ररी बुझेका छैनन् । तर, पनि कार्यक्रम नहेरी उनीहरूलाई शुक्रबार र शनिबार राति निद्रै लाग्दैन।

उनीहरूका नातिरछोरा गोर्खाली कमेडियन (सन्तोष थापा) ‘कमेडी च्याम्पियन सिजन २’ का प्रतिस्पर्धी हुन्। त्यसैले शुक्रबार सन्तोषलाई टिभीमा हेरेपछि मात्रै उनीहरू आरामले निदाउने गर्छन्।

सन्तोषकी आमा भन्छिन्, ‘सन्तोषको हजुरबुबा र हजुरआमा दुवैजना बृद्धबृद्धा भइसक्नुभयो। हजुरबुबाले एउटा आँखा देख्नुहुन्न। कान अलिअलि सुन्नुुहुन्छ। दुवैजना नातिलाई टिभीमा हेर्न मन लागेर होला जतिखेरै आज के बार हो रु भनेर सोधिराख्नुहुन्छ। शुक्रबार त हामी छिट्टै खाना खाएर टिभी हेर्न थाल्छौँ।’ सन्तोष अहिले ‘च्याम्पियनको उत्कृष्ट चार’ मा पुगेका छन् । उनी ‘टप थ्री’ मा पुग्ने बलियो प्रतिस्पर्धी हुन्।

कहिल्यै खुलेर हाँस्न नसकेका सन्तोषले सबैलाई हँसाउन थाले

दिदीहरू शान्ता, सरिता र दाइ शिवपछि सन्तोष जन्मिए। उनी घरका कान्छो छोरा हुन्। उनको बाबु (तिलकबहादुर)ले लामो समय भारतमा काम गरे। त्यहीको कमाइले उनीहरूको घर खर्च चल्थ्यो। २०५४ मा सन्तोष जन्मिए । तिलकबहादुरमाथि अर्को जिम्मेवारी थपियो। अनि धन कमाएर छोराछोरी र परिवारलाई सुख दिने आशमा २०५८ उनी मलेसिया हिँडे।

तर, दुुर्भाग्य १ सन्तान र परिवारको उज्ज्वल भविष्यको झिनो आश बोकेर विदेशिएका उनी उतै विलिन भए । सपना बोकेर जहाज चढेका उनी, लास बनेर फर्किए। चार वर्षकै उमेर हुँदा सन्तोषले बाबु गुमाए। २०६४ मंसिरमा तिलकबहादुरको मलेसियामै मृत्यु भयो । सन्तोषले राम्रोसँग बाबुको माया र स्नेह महसुस गर्नसमेत पाएनन्।

‘कान्छो (सन्तोष) सानै थियो, उहाँ बित्नु भयो। बाबुसँग खेल्ने, रमाउने त परको कुरा, उसले त बाउलाई राम्ररी देख्न पनि पाएन’, सन्तोषकी आमा विगत सुनाउछिन्। सँगै जीउने, सँगै मर्ने कसम खाएका श्रीमान् सुनौलो भविष्यको कल्पना गरेर धन कमाउन विदेशिए, तर त्यसपछि कहिल्यै फर्केर आएनन्।

श्रीमान्को मृत्युपछि परिवारको सबै जिम्मेवारी सीताकै काँधमा आयो। सबै सन्तान सानै थिए, सासूससुरालाई बुढेसकालले छोइसकेको थियो। खासै काम गर्न सक्दैनथे।

जीवनसाथीको साथबाट सदाका लागि एक्लिएपछिको पीडा र त्यसपछिका समस्या सम्झँदा हिजोआज पनि सीताका आँखा रसाउने गर्छन्। उनी विगत सम्झँदै भन्छिन्, ‘उहाँको स्वर्गबास भएपछि छोराछोरी पढाउने, हुर्काउने, सासूससुरा स्याहार्ने सबै आफैले गर्न पर्ने भयो। मेलापात, खेतीकिसानी गरेरै हुर्काएँ। धेरै दुःख गरेँ, त्यो दिन सम्झँदा अझै विरक्त लाग्छ।’

अहिले दुई छोरी र जेठो छोराको बिहे भइसक्यो। जेठो छोरा वैदेशिक रोजगारीका लागि (बहराइन)मा छन्। सन्तोष कमेडी च्याम्पियनमा गएपछि ‘पपुलर’ भइसके। उनको कमेडी हेरेर गाउँका सबैले प्रशंसा गर्छन्। जब छोराछोरीको प्रगतिमा अरुले प्रशंसा गर्न थाल्छन्, सीता खुसीले गदगद हुन्छिन्, रमाउँछिन्।

‘अहिले त गाउँका सबैले कमेडी च्याम्पियनको आमा भनेर भन्छन्। खुसी लाग्छ, छोरा फस्ट भइदिए हुन्थ्यो। भगवानसँग कामना गरेको छु, सबैको सधैँ राम्रो होस्’, खुसी हुँदै उनले भनिन्।

नेपाल प्रहरीको जागिर, टिक्न नसकेको खुसी

सामान्य परिवारमा जन्मिएका सन्तोषलाई उनकी आमाले दुःखसुख गरेर गाउँकै स्कुलमा कक्षा १२ सम्म पढाइन्। २०७१ सालमा कक्षा १२ को परीक्षापछि सन्तोष कम्प्युटर सिक्न काठमाडौँ गए। जेठी दिदीकोमा बसेर कम्प्युटर सिके।

कक्षा १२ को परीक्षाफल आयो उनी पास भए। सन्तोषले सानैदेखि आमाको दुःखलाई बुझेका थिए। १२ पास गरिसकेपछि अब कुनै जागिर खानुपर्छ, आमालाई सुख दिनुपर्छ भन्ने लाग्यो। नेपाल प्रहरीमा प्रयास गरे। १५ भदौ २०७३ मा उनी नेपाल प्रहरीमा छनोट भए। उनी ‘लाहुुरे’ बने। तालिम सकेर ड्युटी गर्न थाले। सन्तोष नेपाल प्रहरी भएकोमा परिवारका सबै सदस्य खुसी थिए। तर, उनको परिवारको यो खुसी पनि लामो समयसम्म टिक्न सकेन।

नेपाल प्रहरीमा भर्ती भएको तीन वर्ष नबित्दै सन्तोष बिरामी भए। ‘प्रहरीमा जागिर खाएको तीन वर्ष नबित्दै कान्छोलाई (सन्तोषलाई) ढाडको समस्या आयो। बेस्सरी बिरामी पर्यो। ५/६ महिना त ओछ्यानको आछ्यानमै बस्नपर्यो। अनि जागिर पनि छाड्नु पर्यो’, सन्तोषकी आमा सीता भन्छिन्।

त्यसपछि कमेडी च्याम्पियनमा केन्द्रीत

बिरामी भएर प्रहरीको जागिर छाडेपछि सन्तोष फेरि काठमाडौँ गए । दिदीको पसल थियो, उनी सहयोग गर्न थाले। एकपटक हात पारेको खुसीलाई गुमाएका सन्तोषको दिनचर्या दिदीको काममा सहयोग गरेरै बित्न थाल्यो । यतिकैमा ‘कमेडी च्याम्पियन सिजन २’ सुरु हुुने कुरा थाहा पाए ।

सन्तोष ‘कमेडी च्याम्पियन सिजन १’ खुब हेर्थे । उनी सानैदेखि कमेडियन स्वभाव भएकाले पनि होला, कमेडी भन्नेवित्तिकै उनलाई रमाइलो लाग्थ्यो। अनि, ‘सिजन २’ भाग लिने सोच बनाए। आवश्यक प्रक्रिया पूरा गरे र भाग लिए। ‘म सानैदेखि स्कुलमा पनि क्यारिकेचर गर्थेँ, रमाइलो गर्नुपर्छ भन्ने लाग्थ्यो। सिजन १ त पूरै गरेको छु। अनि सिजन २ सुरु हुने थाहा पाएपछि भाग लिउँलिउँ लाग्यो। अहिले यो ठाउँमा आइपुगेको छु’, उनी भन्छन्।

न्युज कारखाना


प्रतिक्रिया दिनुहोस्