एक महिनासम्म पत्ता लागेन सडकबाट उद्धार गरिएका बालकको घर ठेगाना

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ९ : ०६


इलाम नगरपालिका क्षेत्रबाट उद्धार गरिएका १५ वर्षीय एक बालकको घर ठेगाना पत्ता नलाग्दा समस्या भएको छ। मीनकुुमार मगर नाम बताउने बालकको घर ठेगना पत्ता नलाग्दा उनको परिवारसम्म पुग्न गाह्रो परेको हो।

एक महिनाअघि प्रहरीले सडकमा लडिरहेको अवस्थामा यी बालकको उद्धार गरेको थियो। उद्धारपछि प्रहरीले नै उनको घर ठेगाना र परिवारको खोजी गरेको थियो तर पत्ता लाग्न नसकेको बताएको छ। घर ठेगाना नै पत्ता नलागेपछि प्रहरीले उनलाई मानवअधिकार मंचको आवासगृहमा पठाएको थियो।

मानवअधिकार मञ्चले पनि बालको घर ठेगाना खोजी जारी राखे पनि हालसम्म पत्ता लाग्न नसकेको मानवअधिकार मंचका बाल हेल्पलाइनका प्रमुख भक्त थामीले बताए। बालकलाई घर ठेगाना सोध्यो भने ‘उदयपुर काठमाडौं’ भनेर जबाफ दिने गरेको थामीको भनाइ छ।

बस चढेर इलाम आएको बताउने बालकले आफ्नो घर ठेगाना यकिन नभन्दा परिवार पत्ता लगाउन समस्या भएको हो ।

सडकबाट उद्धार गरिएका बालकमा मधुमेहको समस्या देखिएको छ । अहिले उनी कोभिडबाट समेत संक्रमित भएका छन् । उनलाई जिल्ला अस्पताल इलामको आइसोलेसनमा राखेर उपचार गरिँदै छ । मंचले बालकको घर ठेगाना र परिवारको पहिचानका लागि सबैसँग आग्रह गरेको छ ।

‘हामी अधिकारकर्मी र प्रहरीले मात्र उनको परिवार पत्ता लगाउन सकेनौँ’, मानवअधिकार मंचका अध्यक्ष मोहनसिंह थेबेले भने, ‘उनको घर परिवार होला, परिवारको खोजीका लागि संचार क्षेत्रलाई समेत अनुरोध गर्छु ।’


प्रतिक्रिया दिनुहोस्