माधव नेपाल : १५ वर्ष महासचिव, १५ वर्षपछि संसदीय दलको नेता

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ६ : २५


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल १५ वर्षपछि संसदीय दलको नेता चयन भएका छन्।

विघटित प्रतिनिधिसभा पुनःस्थापित भएपछि नेता नेपाल १५ वैशाख २०६३ मा एमाले संसदीय दलको नेता चयन भएका थिए।

उनी ११ जेठ २०६६ देखि २२ माघ २०६७ सम्म करिब १८ महिना देशको प्रधानमन्त्री बने। ०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा उनी काठमाडौं र रौतहट दुवै निर्वाचन क्षेत्रबाट पराजित भएका थिए।

२०७० को दोस्रो संविधानसभा निर्वाचनपछि झलनाथ खनाल संसदीय दलको नेता चयन भएका थिए। २०७४ निर्वाचनपछि केपी ओली संसदीय दलको नेता चयन भए।

संविधानसभाको पहिलो निर्वाचनमा दुईवटा क्षेत्रबाट हारेका नेता नेपाल एक वर्षभित्र सो सभाको सांसद मनोनीत मात्र भएनन्, प्रधानमन्त्री निर्वाचितसमेत हुन पुगे।

संविधानसभाको चुनावमा आफ्नो हार तथा एमालेको कमजोर प्रदर्शनपछि पराजयको जिम्मेवारी काँधमा थापेर एमाले महासचिवको पद त्यागेका नेपाल, एक वर्ष पुग्दानपुग्दै सिंहदरबारको जिम्मेवारी बोक्न तम्तयार भए । तत्कालीन नेपाली कांग्रेसका सभापति र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई संविधानसभामा मनोनीत गरेका थिए।

२०५० मा तत्कालीन महासचिव मदन भण्डारीको निधनपपछि एमालेको महासचिवको रूपमा नेपाल १५ वर्षसम्म लगातार राजनीतिको केन्द्रविन्दुमा रहन सफल भए।

यतिबेला भने माधव नेपाल एमालेको नभई नवगठित एकीकृत समाजवादी संसदीय दलको नेता चयन भएका छन्। समाजवादीमा ३० जना सांसद छन्। प्रतिनिधिसभाका २३ र राष्ट्रिय सभाका सात सांसद छन्।


प्रतिक्रिया दिनुहोस्