एप्पलका प्रमुख टिम कुकले सेयर बेचेर कमाए ७५ करोड अमेरिकी डलर

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ३ : ००


विश्व चर्चित बहुराष्ट्रिय एप्पल कम्पनीको प्रमुख कार्यकारीका रूपमा १० वर्ष पूरा गरेका टिम कुकले ५० लाख कित्ता सेयर बोनसको रुपमा प्राप्त गरेका छन्। यूएस सेक्यूरीटीज एन्ड एक्सचेन्ज कमिसनमा सेयर कारोबारको जानकारी दिने एक कम्पनीका अनुसार कुकले तीमध्ये अधिकांश सेयर लगभग ७५ करोड अमेरिकी डलरभन्दा बढी रकममा बेचेका छन्।

उनलाई दिइएको सेयर एप्पलका संस्थापक स्टिभ जबबाट कम्पनीको नेतृत्व सम्हाल्दा गरिएको सहमतिअनुसार भएको बताइएको छ। सहमतिमा उनलाई एप्पलको सेयरले अन्य ठूला कम्पनीको प्रतिस्पर्धामा गरेको प्रगतिको आधारमा शेयर दिइने उल्लेख थियो।

एपलका अनुसार गत तीन वर्षमा कम्पनीको सेयर मूल्य १९१.८३ प्रतिशतले वृद्धि भएका कारण उनले सो सङ्ख्यामा शेयर प्राप्त गरेका हुन्।

एप्पलको सेयर मूल्य सन् २०११ मा उनी प्रमुख कार्यकारी हुँदाको तुलनामा १,२०० प्रतिशतले बढेको छ। आईफोन, आईप्याड र म्याकबुक निर्माता कम्पनीको कुल मूल्य अहिले लगभग २५ खर्ब अमेरिकी डलर बराबर छ।

गत साल कुकले सन् २०२६ को अन्त्यसम्मका लागि नयाँ तलब सुविधाको विषयमा सहमति गरेका थिए। यूएस सेक्यूरीटीज एन्ड एक्सचेन्ज कमिसनमा प्रस्तुत कागजातमा कुकले यो साता करिब एक करोड अमेरिकी डलर बराबरको शेयर परोपकारी संस्थालाई दान गरेको लेखिएको छ। प्रापक संस्थाको नाम भने उल्लेख छैन।

सन् २०१५ मा कुकले मृत्युअघि आफ्नो सबै सम्पत्ति दान गर्ने बताएका थिए। उनी परोपकारी कार्यमा करोडौँ दान गर्ने व्यक्तिमध्ये पर्छन्। उनको अहिले कूल सम्पत्ति एक अर्ब ५० करोड अमेरिकी डलर रहेको ब्लुमबर्ग अरबपति सूचीमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्