२,०६५ कोरोना संक्रमित थपिए, २५ जनाको मृत्यु

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ५ : ०२


काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ६५ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह दिएको जानकारीअनुुसार पछिल्लो २४ घण्टामा १३ हजार एक सय १७ जनामा परीक्षण गर्दा दुई हजार ६५ जनामा कोरोना संक्रमण देखिएको हो।

सक्रिय संक्रमित संख्या ३७ हजार पाँच सय ९९ रहेको मन्त्रालयले जनाएको छ। पाँच सयभन्दा बढी संक्रमण भएका जिल्ला २० रहेका छन्। नेपालमा संक्रमणको दर १९ दशमलव ५ प्रतिशत रहेको छ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार तीन सय ३७ जना संक्रमणमुक्त भएका छन्। योसँगै अहिलेसम्म सात लाख आठ हजार दुई सय ३० जना संक्रमणमुक्त भएका मन्त्रालयले दिएको विवरणमा उल्लेख छ। नेपालमा संक्रमणमुक्त हुनेको दर ९३ दशमलव ६ प्रतिशत रहेको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। अहिलेसम्म १० हजार ६ सय ६३ जनाको संक्रमणबाट ज्यान गएको छ। मन्त्रालयकाअनुसार नेपालमा प्रतिदश लाखमा तीन सय ५९ दशमलव ४ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ।

यस्तै ६ सय २२ जना सघन उपचार कक्ष (आईसीयू), एक सय ७१ जना भेन्टिलेटर, ३४ हजार ६ सय ७३ जना होम आइसोलेसन, दुई हजार नौ सय २३ जना संस्थागत आइसोलेसन र तीन सय ३७ जना क्वारेन्टाइनमा छन्।


प्रतिक्रिया दिनुहोस्