फोटोसुट गर्न गएकी जर्मन मोडललाई चितुवाले आक्रमण गर्यो

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ३ : ३८


जर्मनीमा फोटोसुट गर्न गएकी एक जर्मन मोडललाई चितुवाले आक्रमण गरेको छ। जसका कारण ती ३६ वर्षकी मोडल गम्भीर घाइते भएकी छिन्। पहिला प्रदर्शनीमा देखाइने गरेका वन्यजन्तुलाई अवकाशपछि राखिएको एउटा पशुशालामा ती मोडल फोटो खिचाउन गएको बीबीसीले जनाएको छ।

फोटो खिचाउन गएको ठाउँमा ट्रोय र पारिस नामक दुईवटा चितुवा भएको बताइएको छ। प्रहरीका अनुसार उक्त घटना मङ्गलवार भएको थियो र ती मोडलको अस्पतालमा उपचार भइरहेको छ। बुर्गेनलान्डका अधिकारीहरूका अनुसार चितुवाबाट अरू मानिस जोखिममा नरहेको तथा साक्शोनी–आन्हाल्ट राज्यको नेब्रास्थित सो पशुशालामा कसरी त्यो घटना भयो भनेर अनुसन्धान भइरहेको छ।

जर्मनीबाट प्रकाशित हुने बिल्ड पत्रिकाले घाइते महिलाको नाम जेसिका लाइडोल्फ भएको जनाएको छ। घटना हुँदा उनी त्यहाँ के प्रयोजनका लागि तस्बिर खिचाउन गएकी थिइन् र कसले व्यवस्थापन गरेको थियो भन्ने खुलेको छैन।


प्रतिक्रिया दिनुहोस्