अपडेटः काबुलमा भएको विस्फोटमा परेर हालसम्म १०३ को मृत्यु

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  २ : ४५


अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर भएको बम विस्फोटमा परेर हालसम्म कम्तीमा १०३ जनाको ज्यान गएको छ। बिहीबार यहाँका आक्रमणकारीहरुले विमानस्थल छिर्ने मूल द्वारको बाहिरपट्टि विस्फोट गराएका थिए। काबुल तालिबानीहरुले कब्जामा लिएपछि आफ्नो देश फर्किनका लागि विमानस्थलमा जम्मा भएका हजारौँको भीडलाई लक्षित गरेर उनीहरुले विस्फोट गराएका थिए।

सो आक्रमणमा परेर मृत्यु भएकामध्ये १३ जना अमेरिकी सेना रहेका छन्। अफगानिस्तानमा रहेको अमेरिकी सैन्य समूहका प्रमुख कमान्डरले आफ्ना १३ सेनाको पनि मृत्यु भएको पुष्टि गरेका छन्। यस्तै सो आक्रमणबाट हालसम्म १ सयभन्दा बढी घाइते भएका छन्। घाइते हुनेमा अन्य १८ जना अमेरिकी सेना पनि रहेका छन्।

बम विस्फोट भएपछि भागदौड भएको र त्यसमा परेर केही व्यक्तिको ज्यान गएको बताइएको छ। आफ्नो देश फर्किनका लागि विमास्थलमा जम्मा भएका विदेशी नागरिकलाई लक्षित गरेर विस्फोट गराइएको समाचारमा जनाइएको छ। काबुल विमानस्थलमा हजारौँको भीड लागेको समयमा आक्रमणकारीहरुले बम विस्फोट गराएका हुन्।

यसअघि बिहीबार मात्र अफगानिस्तानको काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको अमेरिका र बेलायतले जनाएका थिए। यी दुई देशले काबुल विमानस्थलमा आफ्ना नागरिकलाई नजानु भन्दै बुधबारदेखि नै सूचना जारी गरेका थिए। रासस


प्रतिक्रिया दिनुहोस्