काभ्रेबाट स्कुटर चोरेर लैजाँदै गर्दा प्रहरीको फन्दामा परे यी व्यक्ति

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ११ : ३३


ट्राफिक प्रहरीले काभ्रे गोकर्णेश्वरबाट स्कुटर चोरीमा संलग्न एक व्यक्तिलाई स्कुटर चोरी गरि भाग्दै गर्दा पक्राउ गरेको छ। ट्राफिक प्रहरी महाशाखाको सादा पोसाकमा खटिएको ट्राफिक टोलीले बा७०प ५०५३ नम्बरको हरियो रंङको डिओ स्कुटर गोकर्णेश्‍वरको अर्यालगाउँबाट चालकसहित नियन्त्रणमा लिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए।

पक्राउ पर्नेमा जिल्ला सिराहा कर्जना नगरपालिका वडा नं. २ भुल्के घर भई काठमाण्डौ गौरीघाट बस्ने वर्ष २४ को अर्पण महत रहेका छन्। उक्त स्कुटर धनी काभ्रे पाँचखाल घर भई गोकर्णेश्‍वर नयाँबस्ती बस्ने प्रविन श्रेष्‍ठले ९ गते अन्दाजी १२ बजे हराएको भनी हुलिया सहित जानकारी दिएका थिए भने सोही सुचनाको आधारमा खोजतलास गर्दै जाँदा उक्त स्कुटर फेला परेको हो।

अनुसन्धानको क्रममा उक्त स्कुटरको वास्तविक नं. परिबर्तन गर्ने अवसरको खोजी गर्दै हिँडेको अबस्थामा बिहीबार दिउँसो ४ बजे महत पक्राउ परेका हुन्। स्कुटर धनी श्रेष्ठको निवेदनका आधारमा स्कुटर सहित महतोलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बौद्ध पठाईएको महाशाखाका प्रवक्ता एसपी संजिव शर्मा दासले बताए।


प्रतिक्रिया दिनुहोस्