तालिबानका कारण भारतीय सेनाको उद्धार विमान उड्न पाएन

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  १० : ४६


अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भारतीय वायु सेनाको एक विशेष विमानले गत बुधबारदेखि उद्धार गर्न नपाएको खबर सार्वजनिक भएको छ। सो विमानले अफगानस्तानका सिख र हिन्दु नागरिक गरी १४० जनालाई उद्धार गर्ने जिम्मेवारी पाएको छ।

यद्यपी तालिबानले सबै १४० लाई विमानस्थल जान नदिई फर्काएपछि भारतीय विमान सोही विमानस्थलमा बुधबारदेखि होल्डमा रहेको बताइएको छ। द हिन्दुले ‘इन्डिया वर्ल्ड फोरम’का अध्यक्ष पुनित सिंहको भनाइ उद्धृत गर्दै दिएको रिपोर्टमा तालिबानले कम्तीमा १४० अफगान सिख, हिन्दु र अन्य यात्रुलाई विमानस्थल जान रोकेका छन्।

अध्यक्ष सिंहले काबुलबाट उनीहरूको उद्धार गर्न विदेश मन्त्रालय र भारतीय वायु सेनासँग समन्वय गरिरहेका छन्। तालिबानले अफगानिस्तानका नागरिकले देश छाड्न नहुने बताउँदै आएको छ। यद्यपी त्यहाँका दक्ष जनशक्तिले अफगानिस्तानमा बस्ने इच्छा व्यक्त गरेका छैनन्।

हालै तालिबानका प्रवक्ताले देशका डाक्टर तथा इन्जिनियरहरु अमेरिकाले लगेको भन्दै चिन्ता व्यक्त गरेका थिए। तालिबाने आफ्ना दक्ष जनशक्तिलाई कसैले लान नहुने बताएको छ। यसबीचमा अहिले तालिबानले विदेश नागरिकलाई विमानस्थल जान दिएपनि अफगान नागरिकलाई नै भने उनीहरुले विमानस्थल जान दिएका छैनन्।


प्रतिक्रिया दिनुहोस्