जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ दिने सरकारको निर्णय

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ६ : १६


काठमाडौं । मन्त्रिपरिषद् बैठकले महाकाली नदीमा तुइनबाट खसेर वेपत्ता रहेका जयसिंह धामीका परिवारजनलाई दश लाख रुपैयाँ क्षतिपुर्ती दिने निर्णय गरेको छ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले ‘तुइन काट्दा’ महाकाली नदीमा बेपत्ता भएका धामीको परिवारलाई आर्थिक सहयोग स्वरूप १० लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् कानू मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

गत साउन १५ गते धामी तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएका थिए। उनी अझै फेला परेका छैनन्।

यस्तै मन्त्रिपरिषद् बैठकले बुर्तिवाङ, पौदी, अमराई, तम्घास, सम्धीखर्क, गोरुसिंगेको १३२ केभि प्रसारण लाइन आयोजना अन्र्तगत प्रसारण लाइनको केन्द्र रेखाबाट दाँया ९ मिटर बाँया ९ मिटर गरी जम्मा १८ मिटरभित्र पर्ने नीजि जग्गा लगायतका अन्य संरचनाहरुलाई क्षतिपूर्ति निर्धारण गर्न गठित समितिमा अध्यक्ष र सदस्य तोक्ने निर्णय पनि गरेको छ।

त्यस्तै विश्व स्वास्थ्य खाद्य संगठन दक्षिणपूर्वी एसियाका लागि क्षेत्रिय निर्देशक पदमा नेपालको तर्फबाट बारगंगा कपिलवस्तु निवासी डा.शम्भुप्रसाद आचार्यको उम्मेदवारीका लागि मनोनयन गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकले हैजा खोपको क्लिनिकल ट्रायल गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ।

त्यस्तै राष्ट्रिय योजना आयोगको सदस्य पदमा पुष्प रमण वाग्ले र सलोनी प्रधान सिंहलाई नियुक्त गर्ने निर्णय गरेको छ भने नेपाल कानून आयोगको अध्यक्ष पदमा पूर्व मुख्य न्यायाधिश जागेश्वर सुवेदीलाई नियुक्ति गर्ने निर्णय भएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्