जनगायक जेबी टुहुरेको निधन

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  १ : ३६


चर्चित गायक जेबी टुहुरेको ७८ वर्षको उमेरमा निधन भएको छ। राजधानीको बयोधा अस्पतालमा उपचाररत उनको बिहीबार साढे १२ बजे निधन भएको राष्ट्रिय नाचघरको पूर्वमहाप्रवन्धक राजेश थापाले जानकारी दिएका छन्।

मुटुसम्बन्धी समस्या, फोक्सो, मधुमेह र उच्च रक्तचापको समस्या रहेका उनलाई मंगलबार मष्तिष्कघात भएको थियो।

उनको शव श्रद्धाञ्जलीका लागि बिहीबार दिउँसो १ देखि २ बजेसम्म पेरिसडाँडास्थित माओवादीको पार्टी कार्यालयमा राखिनेछ। त्यसपछि अन्तिम संस्कारको लागि उनको शव पशुपतिमा लगिनेछ।

जेबी टुहुरेको वास्तविक नाम जुटबहादुर खड्गी हो। जब २०२१ सालमा उनका पिताको निधन भयो, त्यसपछि उनले आफ्नो नामको पछाडि टुहुरे जोड्न थालेका हुन्।उनी कम्युनिष्ट आन्दोलनलाई गीतको माध्यमद्वारा अगाडि बढाउने सर्जक भनेर चिनिन्छन्।

पञ्चायतकालदेखि नै कम्युनिष्ट पार्टीमा लागेर उनले कैयन गीत गाए, बुढापाका र महिलाहरूलाई कम्युनिष्ट आन्दोलनमा आकर्षित गराए। उनले गाएको ‘आमा दिदी बहिनी हो’ बोलको गीत उनको सबभन्दा लोकप्रिय गीत हो। यो गीतको साथमा नेकपा एमालेले पूर्वदेखि पश्चिमसम्म टुहुरेलाई आफ्ना चुनावी कार्यक्रममा लैजान्थ्यो। उनी २०७० सालमा माओवादीमा प्रवेश गरेका थिए।


प्रतिक्रिया दिनुहोस्