आक्रमणको खतरापछि अमेरिकाले आफ्ना नागरिकलाई काबुल विमानस्थल नजान भन्यो

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ११ : ००


अमेरिका र बेलायतले सुरक्षा खतरा देखाउँदै आफ्ना नागरिकलाई काबुल विमानस्थल नजान चेतावनी जारी गरेको छ। आतंकवादी आक्रमण हुनसक्ने भन्दै अमेरिका र बेलायतले आफ्ना नागरिक विमानस्थल नजान भनेको हो। देश फर्कन आतुर भएका नागरिकलाई सुरक्षा अलर्ट जारी गरिएको हो।

दुवै राष्ट्रले बुधवार अबेर त्यस्तो सूचना जारी गरेका हुन्। काबुल विमानस्थल हुँदै बाहिरिनका लागि विमानस्थल बाहिर र भित्र हजारौँ सर्वसाधारणहरू प्रतीक्षारत छन्। अफगानिस्तान तालिबानको कब्जामा आएपछि गएको १० दिनयता अमेरिकाले ८२ हजार नागरिकलाई उद्धार गरिसकेको छ। ३१ अगष्ट भित्र उद्धार कार्य सकाउने हिसाबले काम जारी रहेको बेला विमानस्थलमा नजान चेतावनी दिइएको हो।

आफूलाई इस्लामिक स्टेटका रूपमा चिनाउँदै आएका अतिवादी समूहले पार्न सक्ने खतराबारे अमेरिकी राष्ट्रपति जो बाइडनले चर्चा गरेको २४ घण्टापछि यूके र अमेरिकाको यस्तो सुझाव आएको हो। आक्रमणको जोखिम रहेकाले जतिसक्दो चाँडो हवाई उद्धार हुनु राम्रो रहेको बाइडनले बताएका थिए।

भिडभाडयुक्त विमानस्थलमा खटेका सैन्य कमान्डरहरू आत्मघाती विस्फोटनको सम्भावनाका कारण चिन्तित रहेको बताइएको छ। काबुल विमानस्थलको सुरक्षामा झन्डै ६ हजार अमेरिकी सैनिक र १ हजारभन्दा बढी ब्रिटिस सैनिक खटिएका छन्। उनीहरूले विदेशी र मापदण्ड पूरा गरेका अफगान नागरिकहरूको उद्धारमा सघाइरहेका छन्। बीबीसी


प्रतिक्रिया दिनुहोस्