अमेरिकामा ९/११ जस्तो भयानक घटना गराउने अल–कायदाले तालिबानलाई दियो बधाई

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ६ : ४८


आतंकवादी संगठन अल–कायदाले तालिबानलाई अफगानिस्तान दोस्रोपटक कब्जा गरेकोमा बधाई दिएको छ। अल–कायदाको दक्षिण एसिया हेर्ने एकाईले बयान जारी गर्दै अफगानिस्तानमा तालिबान नियन्त्रणको स्वागत गरेको हो। अल–कायदा इन इन्डियन सबकन्टिनेन्ट एक्यूआईएस नाम भएको यस समूहले आफगानिस्तानमा तालिबान मुस्लिम धर्मको सरिया कानुन लागू गर्न सक्षम हुने अपेक्षा गरेको छ।

उसले आफ्नो बयानमा अफगानिस्तानका नागरिक साथै विश्वभरका मुस्लिम समुदायसहित तालिबानलाई सम्बोधन गरेको छ। बयानमा इस्लामिक इमाइरेट्सको जित भएको बताइएको छ। अल–कायदाले तालिबानसँग अमेरिका हारेको बताएको छ।

अल–कायदा त्यस्तो आतंकवादी संगठन हो जसले सन् २००१ मा अमेरिकामा डरलाग्दो आक्रमण गरेको थियो। सो घटनालाई विश्वले ९/११ भनेर पनि चिन्छन्। सन् २००१ सेप्टेम्बर ११ मा अलकायदाका नाइके ओसामा बिन लादेनको निर्देशनमा अमेरिकाको वल्र्ड ट्रेड सेन्टरमा आक्रमण भएको थियो।

चार विमान हाइज्याक हुँदा दुई विमान वर्ड ट्रेड सेन्टरमा ठोक्काइएको थियो। एउटा विमान अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा खसेको थियो भने एउटा पेन्सेल्भेनियाको चौरमा खसेको थियो। यो घटनामा ३ हजार जनाको ज्यान गएको थियो। तालिबानले अमेरिकासँग गरेको सहमतिअनुसार तालिबानले अफगानिस्तानलाई आतंकवादीको लागि उद्गमस्थल बनाउन पाउने छैन। तर यतिबेला अल–कायदाजस्तो आतंकवादी संगठनले तालिबानलाई बधाई दिइरहेको अवस्था छ।

सन् २००१ मा जब अल–कायदाले अमेरिकामा विध्वंश मच्चाएको थियो। तालिबान त्यसबेला अफगानिस्तानको सरकारमा थियो। ओसामा बिन लादेन त्यहीँ भूमिगत भएर बसेका थिए। अमेरिकाले उनलाई सुम्पन भनेको थियो तर तालिबानले अस्वीकार गरेपछि अमेरिकाले तालिबानमाथि आक्रमण थालेको थियो।

सोही वर्षको अक्टोबर ७ बाट अमेरिकी आक्रमण सुरुवात भएको थियो। नोभेम्बर १३ सम्ममा तालिबान विस्थापित भइसकेका थिए। त्यसयता अमेरिका र नेटोका सेना अफगानिस्तानमा रहँदै आएका थिए। अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि उनले अफगानिस्तानबाट सेना फर्काउने वाचा गरेका थिए। बीबीसी र एजेन्सीहरुको सहयोगमा

भिडिओ


प्रतिक्रिया दिनुहोस्