‘तालिबानले भारतसँग लडाइँ गरेर कस्मिर पाकिस्तानलाई सुम्पिनेछ’

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ५ : ५१


अफगानिस्तानमा नियन्त्रण कायम गरेपछि तालिबानले अहिले सरकार गठनको प्रक्रिया थालेको छ। अर्कोतर्फ चीन र पाकिस्तानले तालिबानलाई आफ्नो मित्र बनाउने प्रयास गरिरहेका छन्। पाकिस्तानका प्रधानमन्त्री इमरान खान र त्यहाँका विदेशमन्त्री शाह महमुद कुरेसीले तालिबानको खुलेर प्रसंशा गरेका छन् र सहकार्य गर्ने बताएका छन्। यस्तै चीनले अफगानिस्तान पुनः निर्माणमा सहयोग गर्ने वाचा गरिसकेको छ।

यसबीचमा पाकिस्तानका नेता तथा प्रधानमन्त्री खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफका निलम इरशाद सेखले तालिबानले चाँडै कस्मिरमा आक्रमण गर्ने र भारतलाई जितेर उक्त भूमि पाकिस्तानलाई सुम्पनेछ भनेर विवादस्पद विचार राखेका छन्। पाकिस्तानी टेलिभिजनमा उनले पाकिस्तानलाई तालिबानले साथ दिने बताएका हुन्।

यतिबेला उनको विवादस्पद भनाइ भाइरल भइरहेको छ। भारतमा उनको चर्को रुपमा आलोचना भइरहेको छ। वास्तवमा भारत र पाकस्तिानबीच लामो समयदेखि कस्मिर विवाद छ। झन् भारतले जम्मु–कस्मिरलाई विशेषाधिकार दिने धारा ३७० हटाएपछि पाकिस्तान र भारतबीच प्रायः दोहारिँदै कस्मिरको विषयमा विवाद हुँदै आएको छ।

कस्मिरका मुस्लिम बाहुल जनता पाकिस्तानसँग मिल्न चाहने पाकिस्तानको भनाइ छ। भारतले कस्मिरका मुस्लिमलाई हेप्ने गरेको पनि पाकिस्तानको भनाइ छ। जम्मु–कस्मिरका सीमामा बेला–बेला भारतीय र पाकिस्तानी सेनाबीच झडप हुँदै आएको छ। यस्तै त्यहाँ सशस्त्र समूहले भारतीय सुरक्षाकर्मीमाथि आक्रमण गरिरहन्छन्।

यी आतंकवादीहरुलाई पाकिस्तानले प्रयोजन गर्ने गरेको भारतको आरोप छ। तर पाकिस्तानले भारतीय आरोप खण्डन गर्दै आएको छ। सन् २०१९ को फेब्रुअरी १४ मा आतंकवादी संगठन जैस–ए–मोहम्मदले आत्मघाती बम बिस्फोट गराउँदा जम्मुको पुलुवामामा ४० भारतीय सेनाको मृत्यु भएको थियो। एएनआई न्युज


प्रतिक्रिया दिनुहोस्